रौतहटः रौतहटको फतुवाविजयपुर नगरपालिका-२ स्थित शीतलपुरमा धानको भारीमा अज्ञात समूहले आगजनी गरेको छ । दाइँ गर्न तयारीमा राखिएको स्थानीय लक्ष्मीराय यादवको धानको भारीमा गए राति करिब ९ बजे आगजनी गरिएको हो।
आगलागीबाट झन्डै ४० क्विन्टल धान जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय लक्षमिनियाका प्रमुख इन्स्पेक्टर विजय कार्कीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए । यता वडाध्यक्ष सञ्जय यादवले नेकपा एमालेका कार्यकर्ता यादवको धानको भारीमा राजनीतिक पूर्वाग्रहका कारण आगजनी भएको दाबी गरेका छन् । राजनीतिक पूर्वाग्रहकै कारण गत वर्ष पनि वडा २ का एमाले सदस्य रामानन्द यादवको डेढ बिगाहाको धानको भारीमा आगजनी भएको वडा अध्यक्ष यादवको जिकिर छ ।एक वर्ष बितिसक्दा पनि उक्त घटनाका अभियुक्त हालसम्म पक्राउ परेका छैनन् । आगजनी गर्नेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन स्थानीयहरूले माग गरेका छन् ।

अघिल्लो सामग्रीमधेसका मुख्यमन्त्री सहितको टोलीले भेट्यो प्रधानमन्त्री प्रचण्डलाई
यसपछिको सामग्रीदेशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की