रौतहट:ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै फोन गरेर बैंकको ओटीपी मागी ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले १८ जना पीडितहरूबाट १५ लाख २० हजार ९ सय रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । ठगीमा संलग्न आरोपमा पक्राउ परेकाहरु सबै रौतहटका हुन् ।उनीहरुलाई काठमाडौंबाट खटिएको प्रहरी टोलीले रौतहटबाट नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।पक्राउ पर्नेहरुमा रौतहट गौर-५ का २६ वर्षीय नवनितकुमार कुशवाहा, २१ वर्षीय कन्हैयाकुमार कुशवाहा, २० वर्षीय अभयकुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढीमाई-६ का १९ वर्षीय दीपेन्द्रकुमार यादव छन् ।
उनीहरूले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी आफू ईसेवाको आधिकारिक कर्मचारी भएको‚ ईसेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नवीकरण, केवाइसी फारम अपडेट, स्टेटमेन्ट भेरीफाइ गर्न शुल्क नलाग्ने लगायत आश्वासन दिएर पीडितहरुबाट रकम ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनीहरुलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पुर्याइएको छ ।




