रौतहट — रौतहटको फतुवा विजयपुर नगरपालिकाका कर्मचारी र शिक्षकहरुले तलब माग गर्दै कार्यालयमा लगाएको ताला २० दिनपछि खुलेको छ । तालबन्दी गरे पनि दसैंअघि नगरपालिकाले कसैलाई तलब निकासा दिएन ।नगरप्रमुख नै भ्रष्टाचार मुद्दामा अदालतबाट कसुरवार ठहर भएको यो नगरपालिकाले नगरसभासमेत गराउन सकेको छैन । नयाँ प्रशासकीय अधिकृतलाई काम गर्न जनप्रतिनिधिकै अवरोध छ । यसले गर्दा नगरपालिकाको आर्थिक गतिविधि प्रभावित छ ।छठ पर्वअघि सबै शिक्षक कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता दिइने सर्तमा आइतबारदेखि कार्यालय सञ्चालनमा आउने गरि जनप्रतिनिधि र कर्मचारीको रोहवरमा ताला खोलिएको हो । नगरपालिकाका ११ जना वडाध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक र कर्मचारी भेला भई शुक्रबार ताला खोल्ने विषयमा छलफल गरेका थिए ।छलफलबाट छठ पर्वअघि तलब खुवाउने सर्तमा ताला खोलिएको शिक्षक रञ्जन खरेलले बताए । उनका अनुसार छलफलमा शिक्षक–कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता वितरण गराउने जिम्मेवारी वडाध्यक्षहरुले लिएपछि ताला खोलिएको हो । गत असार १० गतेभित्र नगरसभा हुनुपर्ने ऐनमा व्यवस्था भए पनि जनप्रतिनिधिबीच बेमेलले अहिलेसम्म हुन सकेको छैन । त्यसैले नगरपालिकाको आर्थिक गतिविधि शून्य छ । नगरपालिका मातहतका विद्यालयमा ३ सय ५० जना हाराहारी शिक्षक–कर्मचारीको तलब रोकिएको छ । सामाजिक सुरक्षा भत्ता वितरण पनि बन्द छ ।
दसैंमा पनि तलब पाउने सम्भावना नदेखिएपछि गत असोज १९ देखि शिक्षक–कर्मचारीले नगरपालिकाको मुलगेटमा तालाबन्दी गरेका थिए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्वको रकम हिनामिना आरोपमा मुद्दा दर्ता गरेपछि नगरप्रमुख गोपाल राय यादव निलम्बनमा परेका थिए । विशेष अदालतले पनि यादवलाई दोषी ठहर गरिसकेको छ । अहिले कार्यबाहक नगरप्रमुखको जिम्मेवारी उपप्रमुख अमबेय खातुनले पाएकी छन् । ताला खोल्न उपप्रमुख खातुनले पहल नगरेको शिक्षकहरुको आरोप छ ।संघीय मन्त्रालयले फतुवा विजयपुरको प्रशासकीय अधिकृतमा उपसचिव सुरेन्द्र प्रधानलाई खटाएको छ । तर जनप्रतिनिधिले विभिन्न आरोप लगाउदै उनलाई हाजिर हुन दिएका छैनन् ।

अघिल्लो सामग्रीतरुण दलको ७१ औ स्थापना दिवसको अवसरमा चन्द्रनिगाहपुरमा दिप प्रजवलन कार्यक्रम
यसपछिको सामग्रीफतुवा विजयपुर नगरपालिकाको विवाद उत्कर्षमा,कार्यपालिका बैठक अनिश्चित