काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोस्रो पटक सिंगो सदनमा उपस्थित सांसदको विश्वासको मत पाएका छन् ।
नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि ३० गते ३० औं दिन आकस्मिक रुपमा उनले विश्वासका मत लिएका हुन् ।उनलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।१०७ सदस्यीय प्रदेश सभामा उनको विश्वासको मतको पक्षमा मतदानमा भाग लिएका सबैको १०३ मत परेको छ । बैठकमा १०५ जना उपस्थित रहेकोमा सभामुख र उपसभामुखले मत हालेनन् ।यसअघि पहिलो पटक मुख्यमन्त्री यादवले माघ ४ गते प्रदेशसभामा सिंगो मत पाएका थिए ।पुस २७ गते मधेश प्रदेश सभाको ठूलो दल नेकपा एमाले सहितका दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।समीकरण फेरिएपछि चैत २१ मा मधेश सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो ।
सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिन प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।तर मधेश सरकारले स्पष्ट बहुमत कायमै रहेको भन्दै विश्वासको मत लिन पर्ने मनस्थितिमा थिएन । विश्वासको मत नलिए कानुनी अड्चन आउन सक्ने देखेपछि मुख्यमन्त्री सरोज यादवले प्रदेश सभाको आकस्मिक रुपमा विश्वासको मत लिने बिहान मात्र निर्णय गरेका थिए ।जसको लागि प्रदेशसभा सचिवालयले बिहान ११ बजे प्रदेश सांसदहरुलाई उपस्थितिका लागि साँझ ५ बजे विशेष बैठक भनेर एसएमएस मार्फत जानकारी पठाएको थियो ।प्रदेश सभामा एमालेका २३, कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।विश्वासको मत लिंदै मुख्यमन्त्री यादवले आगामी असार १ गते ल्याउन लागेको बजेट जनतामुखी हुने प्रतिबद्धता जनाएका छन् ।
उनले सरकारमाथि गरेको विश्वासले उर्जा बढेको भन्दै कसैलाई भेदभाव र काखापाखा नगरी अघि बढ्ने बताए ।
संयन्त्र बनाएर प्रदेशलाई भ्रष्टाचार मुक्त गर्ने आश्वासन व्यक्त गर्दै उनले विकास अघि बढाउने बताए ।
अनलाईनखबरबाट


