रौतहट,०३ माघ ,रौतहट लगाएत तराईका जिल्लाहरुमा केही दिनदेखि चलेको शीतलहरल र चिसोले जनजीवन अस्तब्यस्त भएको छ। घाम नलागेको र पश्चिमा चिसो हावा चलिरहेकोले तराई मधेसको जनजीवन प्रभावित भएको छ। दिन र रात एकै किसिमको जाडो भइरहँदा मुख्य गरी विपन्न समुदाय, बालबालिका, वृद्ध तथा बिरामी र सुत्केरी बढी प्रभावित भएको चिकित्सकहरु बताउछन् ।

अत्यधिक चिसोले रौतहटका डोम, मुसहर, ढांगर, हलखोर, चमारजस्ता दलित समुदायको बस्ती रहेको क्षेत्रमा बढी प्रभाव परेको देखिएको छ। जिल्लाको गढीमाई नगरपालिकाको हथिऔल र समनपुर, माधव नारायण नगरपालिकाको मानपुर विशुनपूर्वा, चन्द्रपुर नगरपालिकाको वडा नम्बर ९ स्थित मुसहर बस्तीमा बस्दै आएका दलितहरु जाडोमा अत्यन्तै कष्टकर जीवन बिताइरहेका छन्।
चन्द्रपुर नगरपालिका वडा नम्वर ९ स्थित मुसहर बस्तिमा बस्दै आएको ५० मुसहर समुदायको परिवारलाई फुसको छाप्रोमा बसोबासले शीतलहरमा अत्यन्तै कष्टकर जीवन बिताउनु परिरहेको छ।
साउन महिनाको झरीदेखि लिएर माघ महिनाको कपकपाउदो चिसो मौसममा प्लास्टिकले छाना झुण्डयाएर करिव ५० परिवारको १५० जना सदस्यहरु बस्दै आएका छन्। त्यसै छानाभित्र खाना पकाएर खाने, सुत्ने, वंगुर राख्ने लगायतको समस्याबाट जुध्दै आएको देखिएको छ। अत्यधिक जाडोले बंगुर पनि धमाधम मरिरहेको डोम समुदायको भनाइ छ। गढीमाई नगरपालिका ३ हथियौलको डोम बस्तीमा घरको छानो जस्ताले छाएको हुनाले रातभरि शीत चुहिएर बसिनसक्नु भएको स्थानीयको भनाइ छ। घाममा पोलेर हैरान हुने र जाडोको मौसममा शीत चुहिएर घरभित्र बस्न नसकिने तथा घरबाहिर चिसो हावाले बस्न नसकिने अवस्था आएको एक पीडित बताउँछन्।

आफ्नो घर नभएका कतिपय दलित तथा विपन्न समुदायका मासिनलाई शीतलहरले निकै समस्या पु¥याएको देखिएको छ। शीतलहर बढेपछि स्वास्थ्य केन्द्रहरुमा बिरामीको संख्या बढेको देखिएको छ। स्वास्थ्य केन्द्रमा पुग्ने अधिकांश मानिस विपन्न र दलित समुदायकै हुने गरेको पाइएकोले शीतलहरले दलित र विपन्न समुदायलाई निकै कष्टकर जीवन बाँच्न विवश बनाएको छ।




