चन्द्रपुर: रौतहट क्षेत्र नम्बर ४ (क) मा कलम छापका उम्मेदवार बालकृष्ण श्रेष्ठले आफू युवा भएको र काम गर्ने दृढ इच्छाशक्ति भएका कारण आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

पहिलो पटक चुनावी मैदानमा उत्रिएको र आफ्नै स्वच्छ छवि नै जीतको आधार भएको श्रेष्ठले बताए । अन्य प्रतिष्पर्धीहरुले पटक पटक निर्वाचन लडेर जनताको विश्वास जित्न सकेका छैनन् । ‘म पहिलो पटक निर्वाचनमा उम्मेदवार भएको छु, जनताको विश्वास जितेर यहीका जनताको हितका पक्षमा काम गर्नेछु’, उनले भने ।
प्रदेश (क) एकीकृत समाजवादीको जनमत राम्रो रहेको र नेपाली काँग्रेस र माओवादी केन्द्रमा भएको विवाद पछि आफूले उनीहरुको विश्वास जितेर साझा उम्मेदवारका रुपमा प्रस्तुत भएको श्रेष्ठको भनाई छ ।

निर्वाचनमा काँग्रेस, माओवादी र एमाले समर्थित आम जनता र स्वतन्त्र समाजसेवी र बुद्धिजीवीहरुको मत आफूले प्राप्त गरी मंसिर ४ गतेको निर्वाचनबाट जीत निकाल्ने श्रेष्ठको दाबी छ । आफूलाई पहाडी, मधेसी, दलित, जनजाति, महिला, युवा, विधार्थी, पिछडावर्ग र फरक क्षमता भएका अपाङ्ग दाजुभाई दिदीबहिनी साथ र समर्थनसहित अमूल्य मत प्राप्त गर्ने कलम छापका उम्मेदवार श्रेष्ठको विश्वास छ ।
आफू कुनै नाजायज लाभ लिनका लागि नभई जनताको निःस्वार्थ सेवा गर्न प्रदेश सभामा प्रवेश गर्न लागेको श्रेष्ठको जिकीर छ । क्षेत्र नम्बर ४ (क) का प्रतिष्पर्धीहरु विभिन्न सपना देखाउने तर काम भने नगर्ने, विभिन्न संस्था खोलेका र नेतृत्वदायी भूमिकामा रहेपनि ती संस्थालाई अलपत्र पारेर अपचलन गरेका, वर्षौंदेखि एउटै परिवारबाट अवसर पाइरहेका व्यक्तिहरु रहेकोले कलम छापमा स्वच्छ छबि भएका र विभिन्न सामाजिक संघसंस्थामा सफल नेतृत्व गरेका श्रेष्ठले आम जनताको विश्वास जितेर विजय हासिल गर्ने नेकपा (एकीकृत समाजवादी) का युवा नेता कृष्ण खड्काले बताए ।

प्रतिष्पर्धी दलका नेता कार्यकर्ताबाट अब आर्थिक प्रलोभन आउन सक्ने भन्दै त्यस्तो प्रलोभनमा नपरी कलम छापमा मतदान गर्न एकीकृत समाजवादीका चन्द्रपुर नगर अध्यक्ष बाबुराम दाहालले अनुरोध गरे । ‘कलम छापका उम्मेदवारको पक्षमा देखिएको जनलहरबाट अन्य प्रतिष्पर्धीहरु अत्तालिएका छन्, हाम्रो जीत निश्चित छ’, नगर अध्यक्ष दाहालले उल्लेख गरे ।मंसिर ४ गते हुने निर्वाचनको शिलशिलामा जनताको घरदैलोमा पुगेर भेटघाटका कार्यक्रमहरु करीब करीब सम्पन्न भएको र अबका केही दिन अहिलेको जनलहरलाई मतदानका दिनसम्म टिकाई राख्न आमसर्वसाधारण, पार्टीका नेता कार्यकर्ता थप चनाखो रहन दाहालले अनुरोध समेत गरेका छन् ।रौतहट क्षेत्र नम्बर ४ (क) मा चन्द्रपुर नगरपालिकाका १० वटा वडा र बृन्द्रावन नगरपालिकाका ३ वटा वडा पर्छन् । यस प्रदेश क्षेत्रमा करीब ५९ हजार मतदाता रहेका छन् ।

अघिल्लो सामग्रीजन ज्योतिमा नमूना मतदान सम्पन्न
यसपछिको सामग्री५ हजार मेटन युरिया भित्रियो