काठमाडौँ — प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि असोज २३ गते आइतबार उम्मेदवारीको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारहरूले मनोनयनपत्रका साथ विभिन्न कागजातहरू पनि संलग्न गरेर विवरणहरू पेस गर्नुपर्छ ।
मनोनयपत्रका साथ उम्मेदवारले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि, मतदाता नामावलीमा नाम समावेश भएको निस्सा उम्मेदवारी दर्ता गराउने क्रममा संलग्न गराउनुपर्छ ।
यस्तै, प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा पनि उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने क्रममा देखाउनुपर्छ ।
दलका उम्मेदवारको हकमा भने सम्बन्धित दलको औपचारिक पत्र पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ । उम्मेदवारले प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका,२०७९को अनुसूची-६ बमोजिम स्वघोषणा गर्नुपर्ने हुन्छ । यस्तै, उम्मेदवारले धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ ।
उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम पनि बुझाउनुपर्ने र प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९को अनुसूची-१० बमोजिम उम्मेदवारको वैयक्तिक विवरण फाराम बुझाउनुपर्ने आयोगले जनाएको छ ।
आयोजले असोज २३ गते साँझ ७ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तालिका छ । यस्तै, मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन सोही दिन राति ७ बजेदेखि ९ बजेसम्म गर्ने छ ।उम्मेदवारको विरोधमा उजुरी दिने समय असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको छ । आयोगले मनोनय प्राप्त र उजुरीउपर जाँचबुझ गरी निर्णय असोज २४ र २५ गते दिउँसव ३ बजेदेखि ५ बजेसम्म तोकेको छ ।असोज २५ गते आयोजले उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने तयारी गरेको छ भने असोज २६ गते उम्मेदवारको नाम फिर्ताका लागि समय तोकेको छ । यस्तै, असोज २६ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाश गर्ने र सोही दिन उम्मेदवारहरूलाई आयोगले निर्वाचनको चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।
देश उम्मेदवारी दिन जाँदा मनोनयनपत्रसँगै के-के चाहिन्छ?


