र्‍यापर बने दुर्व्यसनविरूद्ध अभियानकर्मी

पोखरा — ‘मेरो गोलीजस्तो बोली रटटटटटट।।।,’ आठ वर्षअघि रअ बार्जमा युनिक पोइटसँगको र्‍याप ब्याटलमा ‘लाउरे’ को लाइन चर्चित बन्यो । त्यसपछि पोखराका आशिष रानाले पछाडि फर्किएर हेर्नुपरेन । ‘मेरो सोल्टा’ होस् वा ‘केस नम्बर ४२०’, ‘हाउडे’, ‘तीतो सत्य’, ‘चुप लाग’, ‘साथी हो’ जस्ता चर्चित र्‍याप उनले ल्याए । सिनेमा खेल्ने मौका पाए । रियालिटी सोको निर्णायक बने ।गत वर्षको पुस १४ मा उनी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेपछि भने उनको ‘करिअर’ मा धक्का लाग्यो । पोखराको न्युरोडबाट अरू तीन साथीसहित उनी समातिएका थिए । लागूऔषध दुर्व्यसनको अभियोगमा उनी ५६ दिन जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बसे । फागुन ११ मा तारेखमा छुटे । उनै लाउरे अहिले लागूऔषधविरुद्धको अभियन्ता छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ‘लागूऔषधविरुद्धको सप्ताहव्यापी सचेतना कार्यक्रम’ मा उनलाई दूतका रूपमा प्रस्तुत गरेको छ । असार ६ देखि १२ सम्म सञ्चालन हुने अभियानमा उनी सहभागी हुनेछन् । असार ६ मा पोखरा सभागृह हलमा लागूऔषधसम्बन्धी सचेतना कार्यक्रममा उनले प्रस्तुति दिनेछन् । आफ्नो अनुभवसमेत सुनाउनेछन् ।
स्नातक तह पढ्दै गर्दा लागूऔषधको स्वाद लिने जिज्ञासा भयो । जिज्ञासु स्वभावले गलत बाटो लियो । झन्डै १० वर्षको बीचमा उनले लागूऔषध छोड्न चाहे तर सकेनन् । ‘मैले हरेकपल्ट ड्रग युज गर्दा अब छोड्छु भन्ने लाग्थ्यो,’ शुक्रबार पोखरामा उनले भने, ‘तर ड्रग खान उक्साउने संगतमा हुँदा छोड्न सकिँदैन रहेछ । खराब संगत छोड्नुपर्छ ।’
उनी गीत लेख्न जाग्राम बस्थे ।

दुर्व्यसनले सिर्जनशील बनिने भ्रम थियो । प्रहरीले पक्रिएर हिरासतमा राखेको सुरुआती दिन उनलाई निकै गाह्रो भयो । अन्य थुनुवा देखे । ‘ठूलो–ठूलो अपराधमा आएका छन् । ५–१० वर्ष कारागारमा जानेवालामा छन् । तर उनीहरू निष्फिक्री छन्,’ उनले सुनाए, ‘मेरो केस सानो हो भन्ने लाग्यो । त्यसले पनि मलाई कुलतबाट बाहिर निस्कन मद्दत गर्‍यो ।’ भित्रै उनले दुर्व्यसनबाट उम्केर गर्ने कामको सूची बनाए । तीमध्ये ८० प्रतिशत योजना पूरा गरिसकेको उनले बताए ।
प्रहरीले गरेको व्यवहारले उनलाई सकारात्मक बनायो । ‘योभन्दा अगाडि हिरासतमा परेको थिइनँ । प्रहरीले नराम्रो व्यवहार गर्छ भन्ने छाप थियो, गलत रहेछ भन्ने बुझें,’ उनले भने । उनी कुलतबाट बाहिर निस्किएको ६ महिना भयो । उनी अब युवालाई त्यो बाटो नजान सल्लाह दिने अभियानमा छन् ।

कान्तिपुर बाट

अघिल्लो सामग्रीसुरक्षित गर्भपतनको कानुनबारे बेखबर छन् महिला
यसपछिको सामग्रीगढिमाईमा ग्यास सिलिन्डर पड्किँदा वृद्धा महिलाको ज्यान गयो