१९ फागुन, तनहुँ – बन्दीपुर गाउँपालिकाले पर्यटकीय गतिविधि बढाउने लक्ष्यसाथ चिनियाँ ग्रेटवालको झल्को दिने गरी थानीमाई–मुकुन्ददेश्वरी पर्खाल मिनी ग्रेटवाल निर्माण कार्य अगाडि बढाएको छ । मिनी ग्रेटवाल निर्माणका क्रममा प्राकृतिक तथा पर्यटकीय सौन्दर्यता बिगार्ने गरी काम गरेको भन्दै बन्दीपुरका पर्यटन व्यवसायी तथा स्थानीयले भने आपत्ति जनाएका छन् । मिनी ग्रेटवाल निर्माणका क्रममा उकालोका ढुंगा फुटाइएको छ । बन्दीपुर आउनेहरु थानीमाईको डाँडा उक्लदा दृश्यावलोकन गर्न विश्राम लिने ढुंगा फुटाइएकोमा स्थानीय आशुतोष प्रधानले भने, ‘उकालोमा रहेका ढुंगा प्राकृतिक भ्यु टावरका रूपमा छन् । भाइब्रेटर प्रयोग गरी फुटाउँदा पहिरो जाने खतरा छ ।’बन्दीपुरका थानीमाई संरक्षण समिति, पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघलगायतका संघसंस्था तथा स्थानीय बासिन्दाहरूले उक्त स्थानको ढुंगा फुटाइएको प्रति आपत्ति जनाउँदै गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । विकासका नाममा विनाश नगर्न आग्रह गरिएको पर्यटन विकास समिति बन्दीपुरका अध्यक्ष किशान प्रधानले बताए । भने, ‘जथाभावी फुटाइएकाले सो कार्यबाट यहाँको भौगोलिक विखण्डन आउने र आसपासका मोहोरिया, डाँडागाउँ, डेब्चेगाउँ, गुर्दुमपानी, भानु मावि, पीपलथोक, पौवागाउँलगायत बस्तीमा पहिरो जाने खतरासमेत बढेको हुँदा यसको संरक्षण गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’ पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले पूर्वाधार थप गर्दै पर्खाल निर्माण कार्य गर्नु राम्रो काम भएपनि त्यसका लागि आवश्यक ढुंगा व्यवस्थापनमा उकालोको ढुंगा फुटाउनु उचित नभएको थानीमाई संरक्षण समिति बन्दीपुरका अध्यक्ष पुष्कर प्रधानले बताए । ‘मिनी ग्रेटवाल बनाएकोमा हाम्रो विरोध हैन’, उनले भने, ‘तर गाउँपालिकाले स्थानीयसँग समन्वय नै नगरी प्राकृतिक सौन्दर्यतालाई नै कुरूप बनाउने काम प्रति हाम्रो आपत्ति हो ।’

Construction of Mini Great Wall in Bandipur reaches final phase

पालिकाले काम गर्दा स्थानीयसँग समन्वय गर्नुपर्ने भए पनि स्थानीय र पालिकाभित्रका संघसंस्थासँग समन्वय नगरी काम अगाडि बढाएको उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाइका अध्यक्ष घनश्याम उपाध्यायले बताए । भने, ‘पालिकाले कुरा सुन्ने गरेको त छ तर, कार्यान्वयनमा ध्यान दिएको छैन ।’थानीमाई–मणिमुकुन्देश्वरी पर्खाल निर्माण कार्य जारी रहेको र मापदण्डभित्र रहेर काम गर्न निर्माण व्यवसायीलाई निर्देशन गरिए पनि निर्माण व्यवसायीबाट केही लापरबाही भएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले स्विकारे । उनले भने, ‘हामीले सम्झौताअनुसार नै काम गर्न निर्देशन दिएका थियौं तर गाउँपालिकासँग कुनै समन्वय नै नगरी तोकिएको मापदण्डभन्दा बाहिर गएर केही काम भएको बारे हामी जानकार थिएनौं ।’ ‘बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि नै गाउँपालिकाद्वारा पूर्वाधार निर्माण कार्य भइरहेको छ, यी निर्माणाधीन पूर्वाधार समयमै सम्पन्न गर्नु हामी सबैको दायित्व हो,’ उनले भने । कान्तिपूरबाट

अघिल्लो सामग्रीलागुऔषध गाँजासहित एक जना प्रकाउ
यसपछिको सामग्रीयस्ता बनुन् अबका चुनाव