मछिन्द्र क्लबलाई कुनै बेला रेलिगेसन टार्नै धौ–धौ पर्थ्यो । ए डिभिजन लिगको उपाधि रक्षा गर्न टोलीले २ करोड २० लाख रुपैयाँ लगानी गरी राम्रो टिम बनाएको थियो । त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टर (यूडब्लूटीसी) राजधानीको केन्द्रमै पर्छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबका अधिकांश खेलाडीहरू यहीं भेटिन्छन् । उनीहरू यही बिल्डिङभित्र युनाइटेड बिजनेस होटलमा बस्छन्, ज्यास्मिन फिटनेस क्लब एन्ड स्पामा स्विमिङ, जिम र साउना गर्छन् । घान्द्रुक नेपाली किचनमा खाना खान्छन्, पेपे पिज्जामा खाजा लिन्छन् अनि जेब्राक्रस गर्नेबित्तिकै दशरथ रंगशाला प्रवेश गरेर प्रतिस्पर्धा गर्छन् ।घरेलु फुटबल, त्यो पनि काठमाडौं उपत्यकाको लिग खेल्ने क्लबले आफ्नो टिमलाई यो स्तरको सुविधा दिने कमैले सोच्ने गर्छन् । जुन सुविधा मछिन्द्रले दिइरहेको छ । उही स्तरमा ए डिभिजन खेल्ने थुप्रै क्लब छन्, जसले खेलाडीलाई होस्टेलमा राख्छन्, पर्याप्त खुराक दिन पनि आनाकानी गर्छन ।
आखिर लगानीको प्रतिफल त नतिजामा देखिने रहेछ मछिन्द्र लगातार दुईपल्ट ए डिभिजन लिग च्याम्पियन भयो । ‘स्टार लेवल’ को सुविधा दिएपछि नै मछिन्द्रले तीन वर्षयता दुईपल्ट लिग जितेको हो ।
मछिन्द्रले प्रतिस्पर्धी १३ क्लबलाई पन्छाउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७८ को ट्रफी जितेको ५ दिन भयो । नेपाल सुपर लिग (एनएसएल) नजिकिँदै गरे पनि मछिन्द्रले गरेको उपाधि रक्षाको कहानी अझै घटेको छैन । घरेलु फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगितामा मछिन्द्र कसरी च्याम्पियन भयो ? क्लबले कति लगानी ग¥यो ? स्टार खेलाडीहरूले कति तलब पाउँछन् ? यसपालि अपराजित रहँदै लिगको उपाधि रक्षा गरेपछि मछिन्द्रमा यस्तै खुल्दुली बढेको छ ।‘केही क्लबमा त खेलडीलाई आफ्नो तलब पाउन पनि निक्कै गाह्रो हुन्छ, कहिले पाइन्छ थाहै हुँदैन, समयमै तलब पाइयो भने पो खेलमा केन्द्रित हुन सजिलो हुन्छ,’ २८ वर्षीय डिफेन्डर देवेन्द्र तामाङले भने, ‘मछिन्द्रले तलब तोकिएकै मितिमा दिइरहेको छ । आपत् परेका बेला २–३ महिनाको तलब पनि अगाडि नै दिएको छ । खाना–बस्न राम्रो छ । हाम्लाई यतिका सुविधा अरू क्लबले दिएको छैन ।’उनी दुई सिजन मछिन्द्रबाट खेलेपछि झापा ११, थ्रीस्टार र च्यासलमा पुगेका थिए । अनि २०७६ सालमा मछिन्द्र फर्किएका उनी अहिले करिअरकै उच्च लयमा छन् ।‘मनाङ पनि राम्रो हो तर त्योभन्दा अलि राम्रो अनुभव गरिरहेको छु यहाँ (मछिन्द्र) । अहिले भइरहेकोमा उत्कृष्ट छ,’ कप्तान सुजल श्रेष्ठ पनि मान्छन्, ‘जब मिल्ने मिल्ने खेलाडीहरू, एकअर्कालाई धेरै बुझेको भयो भने एकदमै राम्रो हुन्छ, जुन मछिन्द्रमा देखिरहेको छ, यस्तोमा रिजल्ट राम्रो आउँछ । यहाँ राम्रो खाना, खाजा, तलब ठीक समयमा छ । चाहियो भने तलब पहिला नै पाइन्छ । यसले क्लबलाई व्यावसायिक बनाएको छ भने खेलाडीलाई राम्रो खेल्न प्रोत्साहन गरेको छ ।’ उनको लिग डेब्यु (२०६६–६७) मा संकटा रेलिगेसनमा परेको थियो । त्यसपछि मनाङमा बिताएका उनी तीन वर्षअघि मात्रै मछिन्द्रमा आबद्ध भएका थिए ।
स्टारहरूको व्यवस्थापन
सुजलसँगै गोलकिपर विशाल श्रेष्ठ र मिडफिल्डर विशाल राई दुई फरक क्लबबाट लगातार चारपल्ट लिग जित्ने खेलाडी भए । श्रेष्ठले ११ खेलमा ‘क्लिनसिट’ राख्दै कीर्तिमान बनाए । प्रशिक्षक प्रवेश कटुवालले सम्हालेको २४ खेलाडीको च्याम्पियन टिममा लिग नखेल्ने एक्लो खेलाडी रहे दोस्रो रोजाइका गोलकिपर सूर्य अधिकारी । त्यसैले हुनसक्छ प्रशिक्षक र कप्तानले भने, ‘टिमको एकता नै जित आधार हो ।’घरेलु फुटबलमा मनाङ मर्स्याङदी र थ्रीस्टारको प्रभुत्व मछिन्द्रले तोडिदियो । यी दुई क्लबका ११ खेलाडी भित्र्याएकै सिजन (२०७६) मा मछिन्द्र पहिलोपल्ट ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थियो । त्यसैक्रममा देवेन्द्र र डिफेन्सिभ मिडफिल्डर आन्द्रेस निआ आ–आफ्ना पोजिसनमा उत्कृष्ट दरिए । च्याम्पियन टिमका १२ खेलाडीलाई निरन्तरता दिँदै मछिन्द्रले उपाधि रक्षा गरेको हो । नयाँ क्लबमा सुनील बल, छिरिङ गुरुङ र मनीष डाँगीले पनि उत्तिकै योगदान गरे । ६ गोल गरेका सुनीलले त लिगकै सर्वोत्कृष्ट खेलाडीको अवार्ड पनि जिते । चोटबाट फर्केर विमल घर्तीमगरले उत्कृष्ट पुनरागमन गरे, चार गोल ठोके ।अघिल्लो संस्करणमा १० जित, २ बराबरी र १ हारसँगै च्याम्पियन भएको मछिन्द्रले ११ जित, २ बराबरी खेल्दै उपाधि जोगाएको हो । पहिला अन्तिम खेलमा आर्मीलाई हराएर उपाधि जितेको टोलीले यसपल्ट दुई खेल बाँकी छंदै उपाधि सुरक्षित ग¥यो । टोलीले १२ अंकको अग्रतामा लिग सक्यो । स्टार खेलाडीले भरिएको टिम २१ खेलयता अपराजित छ । पहिलो रोजाईका ११ मा नपरेका स्टारलाई ‘बेन्च’मा राख्न कति गाह्रो भयो होला ? ‘त्यस्तो गाह्रो भएन, हरेक पोजिसनमा प्रतिस्पर्धा भएकोले थप राम्रो पो भयो,’ प्रशिक्षक कटुवालले भने । स्टार खेलाडीलाई सम्हाल्न पनि गाह्रो हुन्छ भनिन्छ । तर, व्यवस्थापक अनिल श्रेष्ठले कहिल्यै अप्ठेरो नभएको अनुभव सुनाए ।
०७० सालको पाठ
खेलाडीहरू जुन समयमा लिनुपर्ने, त्यही समयमा लियौं, मौकामा हीरा फोर्ने भन्छ नि हामीले त्यही ग¥यौं,’ क्लबका उपाध्यक्षसमेत रहेका श्रेष्ठले भने, ‘लिग हुने÷नहुने टुंगो नहुँदै ३–३ महिनाको तलब दिएर खेलाडी अनुबन्ध गरेका थियौं । हामीलाई आफ्नो खेलाडीमा भरोसा छ । उनीहरू अर्को सिजन पनि अरू क्लबमा जाँदैनन् । स्टार भए पनि उनीहरूलाई सम्हाल्न गाह्रो छैन, भएन ।’ खासमा उनी स्विडिस प्रशिक्षक योहान कालिनले सम्हालेको मछिन्द्र लिगमा उपविजेता (२०७०) भएपछि राम्रो टिम बनाउन हौसिएका हुन् । त्यसबेला मछिन्द्रअन्तर्गत ‘मछिन्द्र फुटबल क्लब’ को नेतृत्व उनले गरेका थिए । त्यो टिममा विप्लव गौतमको पनि भूमिका थियो ।श्रेष्ठले भने, ‘०७० सालको रिजल्ट देखाएर क्लब (बोर्ड) मा बुझाएँ । रेलिगेसनमै ८०–९० लाख खर्च हुन्छ, अलि बढी खर्च ग¥यो भने उत्कृष्ट टिम नै बन्छ भनेर राम्रो टिम बनाएको हो । रिजल्ट राम्रो आयो भने प्रायोजक पनि त्यैअनुसार आउने रहेछ ।’ अघिल्ला सिजन चार वटा प्रायोजक पाएका उनले यसपालि त्यो संख्या १२ पुयाए । विजेताको ७५ लाख त कब्जा नै भयो ।२०३२ सालमा स्थापित मछिन्द्रले २०६२ देखि ए डिभिजन लिग खेल्न थालेको हो । धेरैपल्ट रेलिगसन टार्नै मिहिनेत गरेको मछिन्द्र ०७० मा उपविजेता भयो । रेलिगेसनबिनाको ०७५ को लिगमा ७० लाख बजेटको टिम पुछारबाट दोस्रोमा रह्यो । त्यसबेला ४० लाख घाटा बेहोरेको उसलाई प्रायोजकले पनि पत्याएन । अर्को संस्करणमा १ करोड ३५ लाखको टिमले त मछिन्द्रलाई ऐतिहासिक उपाधि दिलायो । ११ लाख घाटा खेपेको सिजन खेलाडीलाई मासिक ४० हजारदेखि १ लाख १० हजारसम्म तलब दिएको थियो ।मछिन्द्रले २ करोड २० लाख बजेटमा उपाधि रक्षा गरेको हो । यसका लागि टोलीले खेलाडीलाई मासिक ३० हजारदेखि १ लाख २० हजारसम्म दिइरहेको छ । ‘करिब १ करोड त खेलाडीकै तलबमा जान्छ,’ व्यवस्थापक श्रेष्ठले भने, ‘यो सिजन नाफामा जान सक्छौं कि भन्ने छ । च्याम्पियन हुँदा लगानी उठाउन गाह्रो छैन ।’ मछिन्द्रले पहिलोपल्ट एएफसी कप २०२२ छनोट खेल्दै छ । नकआउट प्रतियोगिता खेल्न मोफसलतिर पनि जाँदै छ । यसबाट कमाएर अर्को सिजन ठूलै लगानी गर्ने योजना छ । क्लबका अध्यक्ष सुनील कपालीले भने, ‘दुईपल्ट च्याम्पियन भएका छौं । अब ह्याट्रिक गर्ने कोसिस गर्नेछौं ।’हाम्रो खेलकुदबाट



