२० फागुन,पर्सा – रक्सौलबाट आठ जना नेपाली किशोरीहरुको उद्धार गरिएको छ । भारतको एन्टी ह्युमन ट्र्याफीकिङ्ग विभाग दिल्लीले विहार प्रहरीसँगको समन्वयमा रक्सौलस्थित सौनाहा बजारबाट आठ जना नेपाली किशोरीहरुको उद्धार गरेको हो । सौनाहमा सञ्चालित २ वटा आर्केस्ट्राबाट मंगलबार उनीहरुको उद्धार गरिएको विहार प्रहरीले जनाएको छ । विहार प्रहरीका सिनियर इन्स्पेक्टर मनोज कुमार शर्माका अनुसार उद्धार गरिएका आठ किशोरीमध्ये ४ जना नाबालिक छन् ।विशेष सूचनाको आधारमा एन्टी ह्युमन ट्र्याफीकिङ्ग विभाग, रेस्क्यू मिशन फाउण्डेशन, चाइल्ड लाइन केयर सब–सेन्टर रक्सौल तथा पलनवा थानाका प्रहरीको संयुक्त टोलीद्वारा आर्केस्ट्रामा छापामारी गरिएको थियो ।उद्धार गरिएका किशोरीहरुलाई हाल मोतिहारस्थित सेल्टर होममा राखिएको शर्माले जानकारी दिए । नेपाली प्रहरीसँग सम्वान्य गरेर उनीहरुलाई नेपाल पठाउने तयारी भइरहेको उनले बताए ।किशोरीहरुलाई विभिन्न प्रलोभन देखाएर नेपालबाट भारत ल्याई आरकेस्ट्रामा नचाउनुने गरिएको अनुसन्धानबाट खुलेको छ । उनीहरुमाथि शारिरिक शोषण समेत हुनेगरेको थियो ।

प्रहरीले आरकेस्ट्रा सञ्चालकहरुलाई पक्राउ गरेर पलनवा थानाका इन्चार्ज प्रभारी उपनिरीक्षक प्रभाकर पाठकलाई जिम्मा लगाएको छ ।नेपालबाट वर्षेनी हजारौँ महिला, किशोरी र बालबालिका भारत र विश्वका विभिन्न मुलुकमा बेचबिखनमा पर्दै आएका छन् । रोजगारी, विवाह, उच्च जीवनस्तर जस्ता प्रलोभन देखाएर मानव तस्करहरुले नेपाली महिलाहरुलाई भारतमा लगेर बेच्ने गरेको इन्स्पेक्टर शर्माले बताए ।मानव तस्करी रोधी इकाई क्षेत्रीय मुख्यालय रक्सौलले पछिल्लो ६ महिनाको अवधिमा मात्र रक्सौल क्षेत्रबाट मात्रै ७२ जना नेपाली महिलाहरुको उद्धार गरेर नेपाल सरकारको जिम्मा लगाएको छ ।नेपाली चेलीहरुलाई भारततर्फ ल्याउन नेपालमा भारतीय नेटवकिङ्ग कम्पनीको नाममा नेपालमा त्यसको गिरोह नै परिचालित छ । एउटा किशोरीलाई फकाई ल्याए वापत तस्करहरुले २० देखि ५० हजारसम्म भारतीय रुपैयाँ पाउने गरेको शर्माले बताउँछन् ।

अघिल्लो सामग्रीसुन प्रतितोला ९ सय रुपैयाँले बढ्यो
यसपछिको सामग्रीमधानी महायज्ञको अवसरमा कलाकारहरुले झुमाए दर्शक