फागुन १५, रौतहट // अभिनेता पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको छ। इलाका प्रहरी कार्यालय नवलपुरमा आइतबार शाहविरुद्ध अर्को जाहेरी दर्ताको प्रक्रिया अघि बढेकोफ हो । यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि पक्राउ परिसकेका उनीविरुद्ध पीडित १७ वर्षीया गायिकाको परिवारले नवलपुर जिल्लास्थित इलाका प्रहरी कार्यालयमा पनि जाहेरी दिएका हुन् । जाहेरी दर्ताको प्रक्रियामा रहेको छ ।
२०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा पल शाहले बलात्कार गरेको उजुरीमा उल्लेख छ । उनीविरुद्ध पीडितको तर्फबाट बुबासमेत तनहुँपछि गैँडाकोटमा पनि जाहेरी दिन पुगेका हुन् । इलाका प्रहरी कार्यालयले शाहविरुद्ध दोस्रो जाहेरी दर्ता भएको जनाएको छ ।
पलविरुद्ध दोस्रो जाहेरी स् जबरजस्ती मादक पदार्थ पिलाएर बलात्कार भयो
यसअघि, यही फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध पहिलो पटक करणीसम्बन्धी कसुरमा उजुरी दर्ता भएको थियो । पीडित किशोरीले पलले आफूलाई विवाहको प्रलोभनमा पारेर लामो समयदेखि पटक–पटक करणी गर्दै आएको हुनाले कानूनी कारबाहीको माग गरेको बताएकी छन् । गायिका अहिले १७ वर्ष मात्रै पुगेकी उनको परिवारले बताएको छ ।
तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएको भन्दै पहिलो पटक तनहुँ पुगेर उजुरी दर्ता भएको थियो ।मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी नाबालिगसँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।
मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेका थिए । उजुरी परेपछि शाह फरार रहँदै आएकामा आज उनी आफै तनहुँ पुगेर प्रहरीमा आत्मसमर्पण गरेका हुन् । प्रहरीमा उपस्थित हुनुअघि उनले स्वास्थ्य समस्या र घरायसी व्यवहार मिलाउनु पर्ने भएकाले प्रहरीमा उपस्थित हुन ढिलाइ भएको बताएका थिए ।



