सर्लाही— सर्लाहीको वाग्मतीस्थित घरमा सुतिरहेको अवस्थामा एक वृद्धको आगोले जलेर मृत्यु भएको छ ।
वाग्मती नगरपालिका–८ शंकरपुरको सोल्टीस्थित राम अशिष साहको घरको आँगनमा सोमबार बिहानै २ बजेतिर आगो लाग्दा ज्यान गएको हो । ६६ वर्षीय साह घरको आँगनमा जलिरहेको देख्नासाथ तत्कालै छिमेकीहरूले पानी हालेर आगो निभाउँदा उनको मृत्यु भइसकेको थियो ।स्थानीय राम प्रवेश पण्डितले साहको आँगनमा अचानक आगो लागेको देखेर हतार हतार पानी हालेर निभाएको बताए । आइतबार राति घरमा सुतेका साह कसरी आगलागीमा परे भन्नेबारे खुल्न सकेको छैन ।उनी दुई वर्षयता अशक्त भएका घरमै बसिरहेका हुन्थे । पक्षघात भएर बिरामी परेका साहको शरीरको एक भागले काम गरिरहेको थिएन । स्थानीय घनश्याम बलमपाकीका अनुसार साह एक ठाउमा लडेपछि आफैं उठ्न सक्दैनथे ।साहका दुई छोरा छन् । उनीहरू बरहथवास्थित चिरान मिलमा काम गर्ने भएकाले राति त्यतै बसेका थिए । बुहारीसहित अन्य सदस्य घरमै सुते पनि छिमेकीले चिच्याएपछि मात्र उनीहरू ब्युँझिएका थिए । घटनास्थल पुगेका प्रहरीले भने जलेर मृत्यु भएको घटनामा अनुसन्धान भइरहेको जनाएको छ ।
सर्लाहीमा यसअघि आगोले जलेर चार जनाको मृत्यु भइसकेको छ । मलंगवा नगरपालिकाको खुटौनामा एकजना र कविलासी नगरपालिकाको सिर्सियामा दुई बालिका र गोडैतामा एक वृद्धाको आगोले जलेर मृत्यु भएको थियो ।
आवरण सर्लाहीमा आगोले जलेर एक जनाको मृत्यु