फाल्गुन ०८, रौतहट // सर्लाहीमा माछा बोक्ने गाडीबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ । लालबन्दी नगरपालिका–१ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट १ सय २६ किलो गाँजासहित दुई जनालाई शनिबार बिहान पक्राउ गरेको हो । प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त गाडीलाई चेकजाँच गर्दा माछा बोक्न राखिएको ड्रमबाट उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । गाँजा बरामद भएपछि गाडी चालक धादिङको सिद्धलेक गाउँपालिका–६ बस्ने २२ बर्षीय सुरेन्द्र बिक, सोही गाडीमा सवार मकवानपुरको कैलाश गाउँपालिका–२ का ४८ बर्षीय भीमलाल मोक्तानलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ८५ हजार रुपैयाँसमेत बरामद भएको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।
अपराध प्रतिबन्धित लागुऔशध गाँजासहित दुई जना पक्राउ