फाल्गुन ६,रौतहट
खवार अली र बिलाल खानको घातक बलिङसँगै नेपालले आईसीसी पुरुष टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत घरेलु टोली ओमानविरुद्धको खेलमा ११८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा घरेलु खेलाडीसामू नेपालका ब्याटर चल्न नसक्दा नेपालले निर्धारित २० ओभरमा ११७ रन बनाएको हो।
नेपालका लागि मध्यक्रमका आरिफ शेखले सर्वाधिक ३८ रन बनाउनुबाहेक अन्य खेलाडी भने क्रिजमा चल्न सकेनन्। उनले ३८ बलमा २ चौका प्रहार गरे। यता, कप्तान सन्दीप लामिछानेले १६ रनको योगदान दिए। उनले ७ बलमा १ छक्का र १ चौका प्रहार गरे।
यस्तै, मध्यक्रमका युवा ब्याट्सम्यान लोकेश बमले १६ र पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन बनाए। खराब सुरूआतका बाबजुद इनिङ्स सम्हाल्न आएका लोकेश बम १७ बलमा १ छक्कासहित १६ रन बनाएर क्याच आउट भए।
उनलाई खवार अलीले १३औं ओभरको दोस्रो बलमा कलिमुल्लाहबाट क्याच आउट गराए। यता, १५ बलमा २ चौका प्रहार गरेका मल्ललाई फयाज बटलले छैटौं ओभरको अन्तिम बलमा आउट गरे।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ११ रन बनाएर आउट भए। १८ बलमा १ चौका प्रहार गरेका उनलाई ओमानका जिशान मकसुदले आठौं ओभरको तेस्रो बलमा अगाडि बढेर खेल्ने क्रममा आउट गरे।
अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। युवा ब्याट्सम्यान विवेक यादव १० बलमा ७ रन बनाउँदै आउट भए। उनलाई १५औं ओभरको अन्तिम बलमा अवार अलिले नै फयाज बटबाट क्याच आउट गराएका थिए।
यता, नेपालले सातौं विकेटको रूपमा कमलसिंह ऐरीलाई १ रनमा गुमाएको थियो। उनलाई १७औं ओभरको दोस्रो बलमा खवार अलीले कश्याप प्रजापतिबाट क्याच आउट गराए।
त्यसअघि नेपालको ओपनिङ जोडी सस्तैमा समेटियो। ५ बल खेलेका आसिफ शेख १ चौका प्रहार गरेर आउट भए। ओमानका बिलाले पहिलो ओभरमै आसिफको विकेट लिएका थिए।
यता, दोस्रो विकेटको रूपमा कुशल भुर्तेलले विकेट गुमाएका थिए। ८ बलमा १ चौकासहित ५ रन बनाएका कुशललाई ओमानका बिलाल खानले धरापमा पारेका हुन्।
ओमानका स्पिनर खवार अलीले ४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ३ विकेट लिए। यता, बिलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए ।फयाज बट र जिशान मकसुदले १–१ विकेट लिए।
खेलकुद नेपालले ओमानलाई दियो ११८ रनको लक्ष्य