माघ ९, रौतहट// मनाङ मर्स्याङ्दी क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई २(० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।पोखरा रंगशालामा मनाङलाई जित दिलाउन रुपेश केसी र आफिज ओलावाले एक एक गोल गरे ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मनाङले दुबै गोल गरेको थियो ।खेलको ६४ औं मिनेटमा रुपेशले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। ओलावालेको पासमा रुपेशले सहजै गोल गरेका हुन् ।त्यसपछि खेलको ८७ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २(० को जित दिलाए । उनले पुलिसका दुई डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरेका हुन् । उनी म्यान अफ दि म्याच समेत चुनिए ।
अब मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग खेल्नेछ । पुलिस भने बाहिरिएको छ ।यस अघि एपीएफ बीवाईएससी मिनेसोटा युएसएलाई ३(१ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगिसकेको छ ।सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।


