१५ माघ, रौतहट// नेपालबाट विदेश यात्रा गर्ने नेपाली नागरिकले साविकमा हराएको वा चोरी भएको भनी राहदानी विभागमा जानकारी गराएको राहदानी भेटिएमा त्यस्तो राहदानी बोकेर यात्रा नगर्न अध्यागमन विभागले सूचित गरेको छ ।

एक जना व्यक्तिसँग एउटा मात्र राहदानी हुने र एक भन्दा बढी भएमा त्यो गैरकानूनी मानिने भन्दै अध्यागमनले यसरी कुनै व्यक्तिले यात्रा गरेको भेटिएमा जफत गर्न समेत मातहतका कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार विभागका निर्देशक शेखर पौडेलले एक सूचना जारी गरि यस्तो आहृवान गरेका हुन् ।

सूचनामा भनिएको छ, ‘विगतमा राहदानी हराएको वा चोरी भएको कारण देखाई नयाँ प्राप्त गरिसकेका नागरिकको साविकको राहदानी अरु कसैले दुरुपयोग नगरोस भनी सबै राहदानी हराएको जानकारी प्राप्त भइसकेपछि सम्बन्धित निकायमार्फत इन्टरपोलाई समेत जानकारी गराउने गरिन्छ ।’

सोही कारण हराएको वा चोरी भएको भनी राहदानी विभागलाई जानकारी गराइसकिएका राहदानी पुनः फेला परेमा त्यसका आधारमा यात्रा नगर्न विभागले अनुरोध गरेको छ । हराएको वा चोरी भएको भनि अभिलेखमा जनाइएका नेपाली राहदानीको विवरण विदेशस्थित अध्यागमन विन्दु तथा सुरक्षा निकायबाट समेत चेकजाँच हुने भन्दै त्यस्ता राहदानी साथमा राख्दा कानूनी झण्झट आउनेतर्फ समेत अध्यागमनले सचेत गराएको छ ।

अघिल्लो सामग्रीजेसिस चन्द्रनिगाहपुर सिटि ले गर्यो माक्स वितरण तथा ओमिक्रोन विरुद्ध सचेतना कार्यक्रम
यसपछिको सामग्रीपब्जीले गर्दा बालकले गरे आमासगैं, दाजु र दुई दिदीको हत्या