चन्द्रपुर,०६ माघ बागमती सामुदायिक वन उपभोक्ता समूह चन्द्रपुर १ रौतहटले आज जाडोबाट पीडित बनेका विपन्न वर्ग तथा गरिवहरुलाई जाडोबाट बचाउनका लागि दाउरा वितरण गरेको छ । केही दिनदेखि बढेको चिसो तथा शितलहरबाट बचाउनका लागि सामुदायिक वनले आफ्नो उपभोक्ता रहेको विभिन्न स्थानमा दाउरा वितरण गरेको हो । चिसोले गर्दा बालबालिका,वृद्धवृद्धा लगायत आम उपभोक्ताहरुको जीवन कष्टकर हुदै गएको अवस्थामा सामुदायिक वन उपभोक्ता समूहले मानवीय संवेदनालाई समेत ध्यानमा राखेर आगोको लागि दाउरा वितरण गरेको बागमती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गणेश राउतले जानकारी दिनुभयो ।
अध्यक्ष राउतले सामुदायिक वन पनि यहीका जनताको भएको र उनीहरुलाई समस्या पर्दा सहयोग गर्नु दायित्व भएकोले पनि समुहले बागमती बजार क्षेत्र तथा ग्रामीण क्षेत्रमा समेत चोक चोकमा दाउरा वितरण गरेको बताउनुभयो । उहाले थोरै मात्रमा भएपनि जाडोबाट जनजीवन प्रभावित कम गर्न समुहले पहल गरेको बताउनुभयो । उहाले सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताहरुलाई, वडा कार्यालयमा, प्रहरी चौकी बागमती, ट्राफिक पोष्ट र बजार क्षेत्रको विभिन्न चोकहरुमा दाउरा वितरण गरि न्यायो हुनका लागि आगो बाल्ने प्रबन्ध गरेको बताउनु्भयो ।