प्रदेश २ को स्थायी राजधानी ‘जनकपुर’
रौतहट,माघ ०५ // प्रदेश २ को नाम ‘मधेश’ नामाकरण भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले प्रदेशसभाको नाम मधेस प्रदेश राख्ने प्रस्ताव दुई तिहाई बहुमतका साथ पास गरेको हो । सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी भएका थिए, जसमध्ये ८० जनाले पक्षमा मत दिए ।
सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)सगै सत्तारुढ माओवादी केन्द्र र विपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रुपमा प्रदेशको नाम मधेश प्रस्ताव गरेका थिए । जसपाको ३९, माओवादीका ८ र लोसपाको १६ गरी ६३ जना सांसद थिए । १ सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीले पनि यसमा समर्थन जनाएको थियो । तर अरु दलका १६ सांसदले पनि प्रदशेको नाम मधेश राख्ने प्रस्तावको पक्षमा मतदान गरेका छन् । मधेश नाम स्वीकृत भएपछि अब अन्य नाम स्वतः निष्कृय भएको सभामुख सरोज कुमार यादवले जानकारी दिए ।कांग्रेसले मिथिला भोजपुरा, नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले जानकी तथा कांग्रेसकै सांसद राजेश्वर साहले मध्य मधेश नाम प्रस्ताव गरेका थिए ।यसअघि ३ चैत २०७६ मा भएको मतदान भएपनि प्रदेशको नामाकरण हुन सकेको थिएन ।
स्थायी राजधानी जनकपुर ,सोमबार नै प्रदेशसभाले स्थायी जनकपुर टुंगो लगाएको छ । पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।
प्रदेश २ को राजधानी तथा नामाकरण सम्बन्धी अध्ययन विशेष समितिले स्थायी राजधानीका लागि सुरुमा ७ वटा प्रस्ताव गरेको थियो । त्यसलाई परिमार्जन गरी तीनवटा बनाएको थियो, जसमध्ये जनकपुरमा दुई तिहाइ बहुमत मत प्रकट भएको हो ।