एएस रोमाका प्रशिक्षक जोजे माउरिन्होका लागि शनिबार राति पूर्व क्लब इन्टर मिलानविरुद्धको खेल बिर्सनलायक रह्यो । इटालियन सिरी ‘ए’ मा रोमा घरेलु मैदानमै साविक विजेता इन्टरसँग ३–० ले पराजित भयो ।
हकन काल्हानोग्लुको गोलबाट भ्रमणकारी इन्टरले १५औँ मिनेटमा अग्रता लिएको थियो । २४औँ मिनेटमा रोमाका पूर्व फरवार्ड इडेन जेकोले इन्टरको अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा डेन्जेल डमफ्रिसले अर्को गोल थपेपछि इन्टरले पहिलो हाफमै तीन शून्यको अग्रता लिएको थियो । हारपछि रोमाका प्रशिक्षक माउरिन्होले पत्रकार सम्मेलनमा एक प्रश्नको मात्र जवाफ दिएका थिए ।
अन्य प्रश्नको जवाफ नदिएकोमा माफी चाहन्छु । मलाई लागेको कुरामात्र यहाँ भन्छु, माउरिन्होले भने, इन्टरले हामीभन्दा राम्रो खेल्यो । आज उनीहरूको दिन राम्रो रहेछ । गत सिजन उनीहरू रोमाभन्दा २९ अङ्कले माथि थिए । यस सिजन पनि उनीहरू हामीभन्दा राम्रो छ ।
जितपछि १६ खेलबाट ३७ अङ्क जोडेको इन्टर दोस्रो स्थानमा उक्लिएको छ । जुन शीर्ष स्थानको एसी मिलानभन्दा एक अङ्कले मात्र पछाडि हो भने तेस्रो स्थानको नापोलीभन्दा एक अङ्कले माथि हो । पराजित रोमा २५ अङ्कका साथ पाँचौँ स्थानमा छ ।
शीर्ष स्थानको मिलानले नव प्रवेशी सलेर्निटानालाई २–० ले हरायो । घरेलु टोली मिलानले पाँचौँ मिनेटमा फ्राङ्क केसिइको गोलबाट अग्रता लिएको थियो । १८औँ मिनेटमा एलेक्सिस सालेमाकर्सले अग्रता दोब्बर बनाए । पहिलो हाफमा गरेको दुई गोल मिलानलाई तीन अङ्क जोड्न पर्याप्त भयो ।
नापोली भने घरेलु मैदानमै चौथो स्थानको एटलान्टासँग ३–२ ले पराजित भयो । एटलान्टाले रुस्लान मालिनोभस्कीको गोलबाट अग्रता लिएको थियो । ४०औँ मिनेटमा नापोलीका पियोट जिलिनास्कीले बराबरी गोल फर्काए । ४७औँ मिनेटमा द्रिइस मार्टेन्सको गोलबाट नापोलीले अग्रता लियो । ६६औँ मिनेटमा एटलान्टाका मेरिह डेमिरलले बराबरी गोल फर्काए । ७१औँ मिनेटमा रेमो फ्रेउलरले गरेको गोल एटलान्टाको जितमा निर्णायक बन्यो ।
अन्तराष्ट्रिय रोमामाथि इन्टरको सानदार जित