पूष ०२,रौतहट
वैकल्पिक युवा संगठनले नेपाली क्रिकेटर ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरीमाथि गरिएको कारवाही फिर्ता लिन माग गरेको छ । संगठनका महासचिव अशोक खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीले क्रिकेट एसोशिएसन नेपाल (क्यान) मा भएका बेथिति र भद्दा राजनीतिविरुद्ध निरन्तर आवाज उठाउँदै आएको भन्दै संगठनले बेथितिविरुद्ध आवाज उठाउँदै आएका खेलाडीलाई कारवाही गर्नु खेदजनक रहेको जनाएको छ ।क्रिकेट जगतलाई अझ सुदृढ बनाउनुपर्ने खेलाडीहरुको आवाजलाई सम्बोधन गर्नुको सट्टा बेथितिविरुद्ध आवाज उठाइरहेका खेलाडीहरु कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, उत्कृष्ट बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई राष्ट्रिय टीमबाट निलम्बन गरी टीमबाट बर्खास्त गर्नु खेदजनक रहेको संगठनले जनाएको छ । उक्त गैरजिम्मेवार कदमको हामी घोर भर्त्सना गर्न चाहन्छौं, विज्ञप्तिमा भनिएको छ, साथै क्यानलाई आफ्नो गलत निर्णय तुरुन्त सच्याएर खेलाडीहरुलाई पुनर्वहाली गर्दै उहाहरुसग माफी माग्न माग गर्दछौं ।
खेलकुद मल्ल सहितका क्रिकेटरमाथि गरिएको कारवाही फिर्ता लिन माग