मंसिर २९,रौतहट// नेकपा माओवादी केन्द्रले अहिले सात वटै प्रदेशमा सम्मेलन गर्दैछ । सोही अनुसार प्रदेश २ मा पनि माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलन हुँदैछ । सम्मेलनले प्रदेशको पार्टी नेतृत्व चयन गर्ने भएकाले आकांक्षीहरु पनि सोही अनुसारको तयारीमा जुटेका छन् । मुख्यतः प्रदेश अध्यक्षका आकांक्षीहरु औपचारिकरुपमा खुल्न नचाहे पनि आफ्नो पक्षमा माहोल बनाउन विभिन्न तयारीमा लागिपरेका छन् । माओवादी केन्द्रका स्थायी समिति सदस्य महेन्द्र पासवानका अनुसार अहिले प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममात्र रहेको र पुस ३ गते बन्दसत्र हुने भएकाले अहिले नै आकांक्षीहरु औपचारिकरुपमा खुलेका छैनन् ।
प्रदेश नेतृत्वका लागि प्रदेशसभा सदस्य जगत यादवले दाबी गरेका छन् । उनले प्रदेश २ माओवादीको उर्वर भूमि रहे पनि नेतृत्वले सही ढंगले सबैलाई समेटेर अघि नबढ्दा पार्टी संगठन कमजोर देखिएको बताए । प्रदेशमा पार्टी नेतृत्वको दाबी गर्दै उनले भने, माओवादी पार्टी, संगठनलाई चलायमान बनाउन सही ढंगले विचार प्रवाह र सही नेतृत्व आवश्यक हुन्छ, त्यसैले प्रदेश अध्यक्ष पदमा मेरो दाबी छ ।अन्य आकांक्षीहरु खुल्न नचाहे पनि प्रदेश अध्यक्ष पदमा प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह, नेता रामकुमार शर्मा र प्रह्लाद बुढाथोकी लगायत पनि देखिएका छन् । अहिले माओवादी केन्द्रमा प्रदेश २ को अध्यक्ष प्रह्लाद बुढाथोकी छन् । उनले प्रदेश २ को अध्यक्ष पदमा दोहो¥याउने सम्भावना प्रबल छ । तर अन्य नेताहरु पनि आकांक्षी देखिएका छन् । अहिले पनि प्रदेश २ को अधिकांश पालिकामा अधिवेशन हुन बाँकी छ । पालिका अधिवेशनपछि पुस ३ गते प्रदेश २ मा माओवादी केन्द्रको प्रदेश सम्मेलनको बन्दसत्र आयोजना हुने प्रदेश अध्यक्ष बुढाथोकीले प्रस्ट्याइसकेका छन् । उनले पुस ३ सम्ममा अधिवेशन हुन बाँकी रहेका पालिकामा अधिवेशन सम्पन्न भइसक्ने भएकाले अहिले प्रदेश सम्मेलनको उद्घाटनसत्र मात्रै गरिएको बताए ।पूर्व मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य महेन्द्र पासवानले प्रदेश इन्चार्जमा दाबी गरेका छन् । अहिले नेकपा माओवादी केन्द्रको प्रदेश २ इन्चार्ज गणेश साह छन् ।
स्रोतका अनुसार प्रदेश सचिव श्रवण यादव पनि प्रदेश अध्यक्ष पदका आकांक्षी छन् । तर उनले यस बारेमा खुलेर बोलिसकेका छैनन् । सर्वसम्मत रुपमै नेतृत्व चयन गर्ने सम्भावना रहेकाले पनि कतिपय आकांक्षीले खुलेर आफ्नो दाबी नगरेका हुन् ।