नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला सभापति शेरबहादुर देउवा समूहतिर ढल्किएका छन् । उनले चुनावी प्रक्रियामा देउवालाई सघाउने गरी समझदारी बनेको नेताहरुको भनाइ छ । विभिन्न चरणमा भएको छलफलमा सिटौला देउवालाई सघाउन राजी भएका हुन् । सोही अनुसार सिटौलाले आफ्नो समूहबाट प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारका रुपमा अघि सारेका छन् ।
बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सिटौलाले महाधिवेशनमा आफूले कसलाई सघाउने भन्नेबारे स्पष्ट खुलाएनन् तर युवाको प्रतिनिधित्व गर्दै आजकै दिनदेखि आफूले प्रदीप पौडेललाई अघि सारेको बताए । यसअघि सिटौलाको विश्वासपात्रको रुपमा गगन थापा रहेका थिए भने उनले साथ छाडेपछि पौडेलको इन्ट्री भएको हो । यद्यपि सिटौलाले आफू जहाँ हुन्छु मुल पार्टी पनि त्यही हुने बताएका छन् ।
यता काँग्रेसको रामचन्द्र पौडेल पक्षमा रडाको देखिएको छ। उम्मेदवारी चयनका लागि विगत केही दिनयता नेताहरु निरन्तर छलफलमा रहेपनि मुलतः प्रकाशमान सिंह र शेखर कोइरालाले कुनै पनि हालतमा दावी नछाड्ने बताएपछि सो समूहमा रडाको देखिएको हो । यही अवस्था रहे पौडेल समूह छिन्नभिन्न रहन सक्ने पौडेल समूहले नै बताउन थालेका छन् । आज पनि पौडेल समूहले सहमति जुटाउन प्रयास गर्ने बताइएको छ। काँग्रेसको नयाँ नेतृत्व चयनका लागि शनिबार मनोनयन दर्ताको कार्यसुची रहेको छ ।
कांग्रेसको १४औँ महाधिवेशन भने शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे देउवाले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा विभिन्न दलका नेताहरुलाई समेत आमन्त्रण गरिएको छ।
काँग्रेसको नयाँ नेतृत्व समेत चयन हुने यो महाधिवेशनलाई महत्वका साथ हेरिएको छ । हालसम्म देउवासहित विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै रामचन्द्र पौडेल समूह पनि साझा उम्मेदवार तय गर्न प्रयासरत छ । कांग्रेस महाधिवेशनको प्रमुख समाचारसहित लोकान्तर राउण्ड अपमा पाठकहरुलाई स्वागत छः

अब समाचार संक्षेपमा
ट्राफिक प्रहरी महाशाखाले ‘पे फाइन अन द स्पोर्ट–इनस्ट्यान्ट पेमेण्ट सिस्टम’ को शुरुवात गरेको छ । महाशाखाले ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका सवारीसाधन धनीलाई कारबाही स्थलबाट नै रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिनसक्ने व्यवस्थाको शुरुवात गरेको हो ।
पछिल्लो २४ घण्टामा देशभर २११ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोही अवधिमा ३२९ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २२ घण्टामा ९ हजार ४५१ जनाको नमुना परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा थप २ जनाको समेत संक्रमणबाट मृत्यु भएको छ । हाल देशभर ६ हजार १०५ जना सक्रिय संक्रमित रहेका छन् ।
नेकपा माओवादी केन्द्रले प्रदेश समिति पदाधिकारी र संख्या बढाएको छ । माओवादी केन्द्रको बिहीबार बसेको स्थायी समिति बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि सामाजिक सञ्जाल नचलाउने उनको सचिवालयले स्पष्ट पारेको छ । शाहको नाममा खोलिएका एकाउन्टबाट धेरै जना झुक्किएपछि सचिवालयले एक विज्ञप्ति जारी गर्दै त्यसको भ्रममा नपर्न आग्रह गरेको हो ।
नेपालमा कोरोनाविरुद्धको १५ लाख मात्रा मोडर्ना खोप आइपुगेको छ । बिहीबार दिउँसो ३ बजे कोभ्याक्स सुविधामार्फत १४ लाख ९७ हजार ६ सय मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए ।
बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक थप ५।८४ अंकले घट्दै २४ सय ४९।९७ विन्दुमा झर्न पुगेको हो । गत बुधबार नेप्से अधिकतम ७३ अंकले घटेको थियो ।

अघिल्लो सामग्रीसंविधान संशोधन र परिमार्जन गरौं : उपेन्द्र यादव
यसपछिको सामग्रीदेउवाको प्रस्ताव शशांकद्वारा अस्वीकार, केन्द्रीय सदस्यमात्रै लड्ने