नेपाल र भारतबीचको सीमामा रहेको दशगजा अतिक्रमण सशस्त्र सीमा सुरक्षा बल (एसएसवी)ले खाली गराउने भएको छ । दशगजा क्षेत्रमा अतिक्रमण गरी बसोबास गरि रहेकालाई शनिवार सचेत गराई आइतवार देखि बस्ती खाली गर्न निर्देशन समेत दिइएको छ । भातर बिहारको सीतामढी जिल्लाको सुरसण्ड थानासंग जोडिएको महोत्तरी जिल्लाको मनरासिस्वा–९ बथनाहा, १० मधवा, ११ मरुवाही लगायतको क्षेत्र तथा मधुबनी जिल्लासंग जोडिएको मटिहानी लगायतका क्षेत्रका दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा पर्दै गएको भन्दै एसएसवीले सो क्षेत्र खाली गराउने अभियान थालेको छ । सो क्रममा बथनाहाको महतोटोलदेखि स्कुल चोक सम्म त्यो क्षेत्रमा बनाइएको गोठहरु तथा चौपायाहरुलाई शनिबार खाली गराइएको छ भने झुपडीहरु आइतबार सम्म खाली नगरे डोजर लगाएर भत्काउने चेतावनी दिइएको स्थानीयवासी दिलिपकुमार झाले बताए ।

दशगजालाई अतिक्रमण गरेर बथनाहा बजार नै सञ्चालन गरिंदै दर्जनौ झोपडी तथा सटरहरु सञ्चालनमा रहेको छ । सञ्चालनमा रहेका पसलहरु तत्काल आफैले खाली नगरे डोजर लगाएर खाली गराउने चेतावनी दिएको बथनाहा बजारमा चिया पसल सञ्चालन गर्दै आएका सोनु मण्डलले पुष्टियाएका छन् । सीमावर्ती भारतसग जोडिएको कटैया, बथनाहा, मधवा, मरुवाही, नैनही, भिठ्ठामोड, मटिहानी सम्मको करिब १५ किलोमिटरसम्मको दशगजा क्षेत्र अतिक्रमणको चपेटामा परेको अनुमान गरिएको छ ।
दशगजा अतिक्रमण गरी कतिपयले खेतीपाती समेत गरिरहेका छन् भने नेपालतर्फका नागरिकले दशगजामै पराल थुपार्ने, गुइठा बनाउने, पशु चौपाया बाध्ने जस्ता कार्यका कारण दुई देशलाई छुट्याउने दशगजा (नोमेन्स ल्याण्ड) अतिक्रमणको चपेटामा परेको देखिएको छ । भारतीय नागरिकहरुले घर टहरा नै निर्माण गरी वसोवास गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दशगजा क्षेत्र एक सय मिटर दांया र बायां कुनै पनि कार्य गर्न निषेधित भएपनि सम्बन्धित निकायको उदासीनताको कारण ठाउं ठाउंमा बजार नै लाग्ने गरेको छ भने कतिपय स्थानमा पक्की घर नै निर्माण गरी दशगजा नै नदेखिने गरि अतिक्रमित भएको अवस्था छ । सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका विओपीहरू भएपनि अवाञ्छित गतिविधि माथि निगरानी राख्ने, अवैध मालसामानको ओसारपसार नियन्त्रण गर्ने तथा दुबै देशको अपराधिक कार्य गरेर सजिलै सीमा वारीपारी गर्नेहरूमाथि अंकुश लगाउने गरेको तर, दुवै देशका स्थानीय बासिन्दाद्वारा भइरहेको अतिक्रमणलाई नियन्त्रण गर्न ठोस कदम नचालिँदा उनीहरूको मनोबल बढदै गएकोले अतिक्रमण हटाउन अभियान नै थालेको छ ।
यसैबीच भारतको मधुबनी जिल्लाका मधवापुरमा दशगजा सरसफाई सम्बन्धमा दुबै देशका सुरक्षा प्रमुखहरु बीच शनिबार छलफल भएको छ । छलफलमा मधुबनी जिल्लाका एसएसबी कमाण्डेण्ट चन्द्रशेखर तथा नेपालको तर्फबाट सशस्त्र प्रहरी बल महोत्तरीका एसपी सुरेश सापकोटाले जानकारी दिए । उनले भने– दशगजाको अतिक्रमित सरसफाइकालागि एक अर्का बीच सामञ्जस्यता कायम गरी सरसफाइ कार्यलाई अगाडि बढाउने छ ।

अघिल्लो सामग्रीसप्तरीमा एक महिलाको घाँटी रेटी हत्या
यसपछिको सामग्रीअवैध हतियार सहित १ जना पक्राउ