रौतहटः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत पर्सा, बारा र रौतहटका कानुन व्यवसायीले आजदेखि अदालतमा बहस नगर्ने घोषणा गरेका छन्। साथै उनीहरुले थप चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
वीरगन्जस्थित उच्च अदालत अस्थायी इजलाश , रौतहट जिल्ला अदालत, बारा जिल्ला अदालत र पर्सा जिल्ला अदालत बार एसोसियसनको संयुक्त बैठकले अदालतमा बहस बहिष्कार गर्नेसहितका चार दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
त्यहीअनुरुप उच्च अदालत अस्थायी इजलाश, पर्सा जिल्ला अदालत, बारा जिल्ला अदालत र रौतहट जिल्ला अदालतमा कानुन व्यवसायीहरुले मङगलबारदेखि चार दिनसम्मका लागि बहस बहिष्कार गरेका हुन्। मङगलबारदेखि चार दिनसम्म बन्दीप्रत्यक्षीकरणको मुद्दाबाहेक अन्य मुद्दाको पेशी चार दिनसम्म स्थगीत गर्ने निर्णय भएको उच्च अदालत बार एसोसियसन वीरगन्जका सचिव शैलेन्द्र चौरसीयाले बताए ।
यस्तै थप घोषित आन्दोलनका कार्यक्रम अनुसार वीरगन्जस्थित उच्च अदालत अस्थायी इजलाश परिसरमा मङगलबार बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म कानुन व्यवसायीहरुले धर्ना दिए। यसैगरी बुधबार उच्च अदालत अस्थायी इजलाश वीरगन्जकै परिसरमा बिहान ११ देखि १२ बजेसम्म धर्ना दिने र दिउँसो १ बजे विरोधसभा गर्ने निर्णय पनि गरिएको सचिव चौरसीयाले जानकारी दिए ।
बुधबारको विरोध सभामा नेपाल बार एसोसियसनका केन्द्रीय सदस्य भीम बन्जरा र बरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि सम्बोधन गर्ने चौरसीयाले बताए । बिहीबार मंसिर ९ गते बारा जिल्ला अदालतको परिसरमा धर्ना दिने कार्यक्रम तय भएको उच्च अदालत बार एसोसिएसन वीरगन्जका निवर्तमान अध्यक्ष सुधिर कर्णले जानकारी दिए ।
मंसिर १० गते रौतहट जिल्ला अदालत परिसरमा बृहत विरोधसभा गर्ने निर्णय भएको उनले बताए ।