nepali tihar songs

कात्तिक १९,रौतहट

तिज, दशैं, तिहार लगायतका ठूला चाड पर्वलाई लक्षित गरेर वर्षेनी थुप्रै गीतहरु सार्वजनिक हुने गरेका छन् । गीत संगीतले चाड पर्वमा छुट्टै रौनकता थप्ने गरेको छ । तर, हरेक चाड(पर्वमा पुरानै गीतहरुको वर्चश्व छ । तिहारमा त दुई दशकभन्दा अगाडिका फिल्ममा समावेश गीतहरु नै बढी घन्कने र गाइने गरिन्छ । यहाँ हामीले तिहारका सदाबहार फिल्मी गीतहरु प्रस्तुत गरेका छौं ।

‘तिहारै आयो, लौ झिलिमिली’

तिहारको छेकोमा सर्वाधिक घन्कने गीत हो यो । यो गीतले तिहार नजिकिएको आभाष गराउँछ । निर्देशक शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’ मा समावेश गीतमा यादव खरेलको शब्द, शम्भूजीत बाँस्कोटाको संगीत र लोचन भट्टराईरनूतन प्रधानको स्वर छ । गीतमा अभिनेत्री गौरी मल्ल फिचर्ड छिन् । हरेक वर्षको तिहारमा देउसी खेल्नेहरु यही गीत गाएर देउसी खेल्न सुरुवात गर्छन् ।

‘दियो बाली साँझको’

तुलसी घिमिरे निर्देशित सुपरहिट फिल्म ‘चिनो’ को ‘दियो बाली साँझको’ बोलको तिहार गीत पनि दशकौंदेखि दर्शकमाझ लोकप्रिय छ । जब यो गीत घन्कन थाल्छ तब तिहारले घर(आँगन टेकेको महशुस गराउँछ । कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत र आशा भोस्लेको स्वर रहेको गीतको भिडियोमा स्वर्गीय सुभद्रा अधिकारी र स्वर्गीय कलाकार केशव भट्टराईको अभिनय छ ।

‘निधारमा लर्काएर सप्तरंगी टीको’

राजेन्द्र सलभको निर्देशनमा बनेको फिल्म ‘विजय पराजय’ मा समावेश ‘निधारैमा लर्काएर सप्तरंगी टीका’ गीतले पनि तिहारको महत्त्व झल्काउँछ । यो गीत दिनेश अधिकारीले लेखेका हुन् । गीतमा हेमलताको स्वर र शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । गीतमा नायकद्वय भुवन केसी, कृष्ण मल्ल र अभिनेत्री रुपा राणा फिचर छन् । गीतमा बहिनीप्रति दाईभाईको प्रेम दर्शाइएको छ ।

‘हाँसेर बोल बहिनी तिहारको बेलैमा’

अनिल संग्रौलाद्वारा निर्देशित फिल्म ‘माइती’ मा समावेश यो गीत तिहारमा बज्ने निकै चर्चित गीत हो । आनन्द कार्की, उदित नारायण झा, दीपा झा, नगेन्द्र श्रेष्ठको स्वर रहेको गीतमा लक्ष्मणले संगीत भरेका छन् । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंह फिचर यस गीतमा रिसाएकी बहिनीलाई दाजुले फकाउँदै गरेको र भाईटीका लगाउँदै गरेको परिवेश समावेश छ ।

‘अधरमा आज उनकै छ गीत’

तुलसी घिमिरे निर्देशित फिल्म ‘अन्याय’ को ‘अधरमा आज उनकै छ गीत’ गीतले पनि तिहारको बयान गर्छ । गीतमा मनिला सोताङ्गको आवाज छ । टीका लगाएको र तिहारको थप परिवेशलाई गीतमा समेटिएको छ । आकाश अधिकारी निर्देशित फिल्म ‘कोहिनूर’ मा समावेश गरिएको ‘यसपालिको तिहारै रमाइलो’ गीत पनि तिहारको बेला सर्वाधिक घन्किने गीतमध्येमा पर्ने गर्छ ।

अघिल्लो सामग्रीवेस्ट इन्डिज टी–२० विश्व कप क्रिकेटको समूह चरणबाट बाहिरियो
यसपछिको सामग्रीतराईमा छठपर्वको तयारी सुरु