१ मंसिर,रौतहट
तातोपानी नाका हुँदै नेपाल हुने आयात पुनः घटेको छ । दशैं लगत्तै नाकाबाट दैनिक १८ कन्टेनरसम्म मालसामान आयात हुन थालेकोमा अहिले घटेर १० कन्टेनर हाराहारीमा झरेको भन्सार कार्यालय तातोपानीले जनाएको छ ।अहिले नाकाबाट रोल कपडा, स्याउ, ओखर, रेडिमेट मालसामान भित्रिरहेको भन्सार प्रमुख नारद गौतमले बताए । ‘केही समय दैनिक १७ कन्टेनरसम्म मालवस्तु आयात हुन थालेको तर अहिले पुनः १०र११ मा झरेको छ,’ गौतमले भने ।जाडो मौसम शुरु भएसँगै चिनियाँहरुले नाकामा कोभिड प्रोटोकलमा थप कडाइ गरेको गौतमले बताए । चिनियाँ पक्षले कुनै औपचारिक जानकारी नदिएको र आफू खुसी कन्टेनर कति पठाउने भन्ने निर्णय गरिरहेको तातोपानी भन्सार प्रशासनले जनाएको छ ।केही समय अघि अर्थमन्त्रीसहितको उच्चस्तरीय टोलीले नाकाको स्थलगत निरीक्षण गरेपछि व्यापार सहजीकरणमा थप प्रगतिको आशा व्यावसायीहरुले गरेका थिए ।
उत्तरतर्फको व्यापारको अर्को ठूलो नाका रसुवागढीको व्यापार भने पूर्ववत अवस्थामै रहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । चीनतर्फबाट दैनिक ९ टेलर सामान आइरहेको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले बताए । नेपालतर्फ सामान आयातका लागि ३५ जना नेपाली श्रमिक चीनतर्फ रहेको उनले जानकारी दिए ।भन्सार यार्ड फराकिलो बनाएर आयात वृद्धि गराउन कुटनीतिक छलफल भइरहेको चौधरीको भनाइ छ । रसुवागढी भएर अहिले जाडोको लुगा र जुत्ताहरु एवं जलविद्युत कम्पनीका ठूला मेसिनहरु आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ ।