काग तिहार
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले बडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो तिहार अर्थात यमपञ्चक । यही तिहारको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ ।
पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । यसवर्ष भनें आजकै दिनमा नर्क चर्तुदशी परेको छ । आजकै दिन त्रयोदशी र चर्तुदशीको तिथी परेको हो र चर्तुदशी पनि परेकाले बिसं २०७८ को तिहारमा काग र कुकुर तिहार एकैदिन परेको हो ।
काग तिहारमा चाँही कागलाई यमराजको सन्देश बाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग अर्थात सन्देश प्रवाहक प्राणी, काग करायो भने केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै छ, हैन र रु
कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरू अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरूलाई बिर्सिएर कागको पूजा गरिन्छ ।
काँ काँ गरेर चर्को र झर्कोलाग्दो स्वरमै भएपनि कागले सन्देश बोकेर ल्याउने जनश्रुति रहेको छ, काग एउटा बाठो पन्छी हो र यसले हाम्रो बालीनालीमा भएका दुर्गुणी किराफट्याङ्ग्रालाई खाइदिएर अन्न उत्पादनमा र मांशजन्य फोहरहरू खाइदिएर सरसफाइमा सहयोग गर्दछ । त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । हाम्रो वैदिक सनातन संस्कारमा टेक्ने माटो देखि श्वास फेर्ने हावा अनि वर्षीने बादलदेखि गर्जिने बाघसम्म, कुकुर देखि काग अनि बोटविरुवा सम्म सबैकुरामा पवित्रता र भगवान तत्त्वको गुण स्विकारिएको छ ।
आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । कागतिहारकै दिन समुन्द्र मन्थनका क्षण उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाउने चलन थियो तर यसवर्ष चाँही धनवन्तरि जयन्ती एकदिन अगाडि सरेको हो।
आज यमदीप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदीप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।
सेलरोटीको मिठास अनि दियोको प्रकाशका साथै देउसी अनि भैलोका सङ्गीतहरू गुञ्जायमान यस पर्वको हर्षोल्लास वास्तवमै अद्भूत छ । काग, कुकुर, गाई, गोरु र दाजुभाइको पूजा क्रमैसँग यमपञ्चकका पाँच दिनमा गरिने यस तिहार पर्व मनाइने बारेमा धेरै किंवदन्तीहरू पाइन्छन् । जसमध्ये एकदमै प्रचलित कथा यम र उनकी बहिनीको प्रसङ्ग यहा प्रस्तुत गर्न जाँदैछौ ।
मृत्युका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजुसँग भेट्न धेरै इच्छा भएर विभिन्न माध्यमहरूमाफर्त दाजुलाई भेट्न आउन निम्तो पठाइन् । उनले यम समक्ष शुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफै गएर दाजुलाई भेटेको प्रसङ्ग छ । दाजुलाई भेटेपछि उनले दाजुलाई टीका, फूलमालाले पूजा गरि रङ्गीन टिका निधारमा लगाएकी थिइन । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दूबोको माला लगाइदिई पूजा गर्दै भाइटीका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचौ दिनमा भाइटीका लगाएपछि तिहारको विधिवत अन्त्य हुन्छ ।
काग तिहारमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर विभिन्न खानेकुराहरू पात या दुना टपरीमा कागका लागी भनेर राखिन्छ र वर्षभरि कागले घरआँगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यका कुराहरु मात्र ल्याओस् भनेर कामना गरिन्छ ।
उता सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भने अलिक फरक ढङ्गले काग तिहार मनाइन्छ । सुदूरपश्चिमको स्थानीय भाषमा नरहरि भनिने यस चाड माघे संक्रान्ति अर्थात पुसे तिहार भनेर मनाइन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे संक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठा परिकारहरु खुवाउने चलन रहेको छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ ।
काग र कोइलीको अत्यन्त प्रसिद्ध कथा र चलन त हामी सबैले सुनिआएको छौं । कोइलीले आफ्नो अण्डा गएर कागको गुँडमा पार्ने अनि कागले त्यसको अण्डा कोरलेर कोइलीको बच्चालाई आफ्नै सन्तान भनेर हुर्काउने गर्दछ । यसअर्थमा चर्को स्वरमा नमिठोसँग कराउने कालो काग नै सुरिलो स्वर भएका हरेक कुहू कुहू गरेर बसन्तमा कराउने कोइलीको जीवनरक्षार्थ अभिभावक हो, काग र कोइलीको यो सहअस्तित्वले हामीलाई धेरै सकारात्मक कुराहरूको उदाहरण दिएको छ ।
घरघरमा केराका बोटहरू लगायत अन्य प्रकारका झिलीमिली द्वारहरु बनाएर साँझमा दीप प्रज्ज्वलन गरिन्छ । विभिन्न प्रकारका पटाकाहरू पड्काउने चलनका साथै तराईमा सन्ठी अर्थात जुटको भित्रपट्टिको हलुका लठ्ठिहरुको मुठालाई बालेर खेतमा गएर हुक्का खेल्ने चलन छ । रमाइलोको यो माहौलमा सजग र सुरक्षित रहन पनि एकदमै जरुरी छ । अर्कोतर्फ अब गाउँघरमा उत्साहित मान्छेहरूले उल्लासपूर्वक तिहारमा देउसी या भैलो कहाँ कहाँ खेल्ने, को को खेल्ने अनि के के गीत अथवा नृत्य प्रदर्शन गर्ने, कसले भट्याउने आदि तैयारी शुरु भइसक्यो होला,यो तिहार उल्लासपूर्ण होस् हामी सबैको आँगनीमा सदासर्वदा कागले हर्ष र उत्साहको सु समाचारहरु ल्याईरहोस् ।
कुकुर तिहार
दिपावली अर्थात् उज्यालोले भरिएको खुशियालीयूक्त तिहार, एउटा विशेष उर्जासहितको उमङ्गमय चाड । हिँउदका शुरुवाती दिनहरुको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तिहरुको चाडका रुपमा पनि परिचित छ । पाँचदिनसम्म दैनिक जीव, जीवन र सम्बन्धमिश्रीत वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ ।
मानव सभ्यताको हरेक प्रचिन खोजहरूमा मानव समाजसंग कहिल्यै टाढा नभएको एउटा बफादार र शाहसी जीवको रूपमा परिचित छ आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पूजिने दिन । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसंग अत्यन्त नजिक बफादार जीवमा रहेको छ ।
ऋगवेदमा स्पष्ट रूपमा ुसमराुको बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरुकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दू परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतकारुपमा मानिन्छ र मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ ।
महाभारतमा पनि सत्यवादि यूधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदहारण र सत्मार्गको प्रतिनीधिका रुपमा लिइन्छ । तन्त्रसाधक निडर भगवान भैरवको वाहन पनि कुकुरनै हो भने चाणक्य नितीमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा उल्लेख गरिएको छ ।
यी त भए शास्त्रका कुरा तर आधुनिक यूगको इतिहासमा पनि सर्वप्रथम पृथ्वीको कक्ष बाहिर परिक्रमा गर्दै अन्तरिक्षमा सन् १९५७ मा लाईका नामक कुकर पुगेको हो । त्यसैगरि सन् १९२३ मा जापानको ओडाटेमा जन्मिएको हाछिको नामक कुकुर र उसको मालिकप्रतिको बफादारीताको दृष्टान्तस्वरुप बनाइएको चलचित्र ूहाछिकोू आजपनि विश्वभरि उत्तिकै लोकप्रिय छ र उक्त चलचित्र हेर्ने धेरैका आँखा रसाएका छन् ।
आज यिनै कुकुरहरुको पूजा गरिने दिन हो है, आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गरी खान दिने मानिसहरुलाई पूण्य प्राप्त हुने जनश्रुती छ । मानव समाज र कुकुरहरुको बलियो र पुरानो सम्बन्ध छ, आज त्यो सहअस्तित्वको अर्चना गरिन्छ । आज घरपालुवा मात्र नभई सडकका छाठा कुकुरहरुलाई पनि माला पहिर्याइ, अबिरको टिका लगाई खाना खान दिने गरिन्छ । यसरी फूलको माला लगाईदिनाले माला पहिराउने यो विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्व दिएको मानिन्छ यस अर्थमा आज कुकुरहरुप्रति समर्पित दिन हो ।
आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्डभोगी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ विहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ ।
आजभोली त कुकुरलाई अझ विशेष रौनक र चाखका साथ देश विदेशमा पाल्ने गरिन्छ । कुकुरका विभिन्न विदेशी तथा स्वदेशी नश्लहरु धेरै पैसामा किनबेच हुन्छन् अनि अझ बिकसीत देश, शहरहरुमा कुकुरहरुलाई अत्यन्त शानदार रुपमा घरको अभिन्न सदस्यको झै राख्ने गरिन्छ । अर्कोतर्फ अपराध अनुसन्धान अनि सुरक्षाकालागि अवैध अनि विष्फोटक पदार्थहरु पत्ता लगाउन पनि कुकुरहरुको प्रयोग गरिन्छ ।
तिहार एउटा उपहार आदान प्रदान गरिने, कथा भनिने, सुनिने, दिदी(भाई, दाजू)बहिनीको अथाह स्नेहको महत्व राख्ने र मानव समाजलाई अन्य जीव, जीवनसंग सहअस्तित्वको बाटोतर्फ अघि बढ्न प्रोत्साहन गर्ने चाड हो । साँझमा बालिएका बत्तिहरुले अँध्यारोमाथी उज्यालोको उत्सर्ग, अज्ञानतामाथी ज्ञानको प्रवाह र अविभाजित मानव अस्तित्वको आजम्बरी अनुभूति प्रदान गर्दछ । सनातन धर्म एकदमै पृथक छ र त्यत्तिकै वैज्ञानिक पनि छ । यसका संस्कारका आधारहरु, प्रकृती, प्रेम अनि मानवतालाई अत्यन्त विशिष्ट स्थान दिएको अनि हरेक प्रकृतिका सृजनाहरूमा इश्वरत्व अनुरूप व्याख्या गरिएको छ ।
नेपाली समाजमा पनि कुकुरहरु जनावर पालन अनि कृषीकार्यकालागि सदियौँ देखि नजिक छन् । चाहे त्यो लेकमा चौरीहरुलाई गोठालो लाउने भोटे कुकुर होस या खाना खाएर चुठ्न निस्कँदा पुच्चछर हल्लाउदै आउने स्थानीय जातका छाडा कुकुरहरु हुन्, हाम्रो घर गोठ अनि वालीनालीको पुस्तैनी रखवालाहरु यिनै हुन् । यिनीहरुमा असाधारण सुँघ्नसक्ने क्षमता हुन्छ अनि प्राकृतिक प्रकोप आउनुपूर्वनै यीनिहरुले आफ्नो फरक गतिविधि तथा अस्वभाविक ब्यवहारमार्फत् यी कुराहरुको पूर्वसूचना दिनेगर्दछन् ।
मानव ब्यवहार एउटा ऐनाजस्तै हो, हामीले जस्तो ब्यवहार गर्छौ त्यस्तै प्रतिविम्बस्वरुप ब्यवहार पाँउछौ । यस पृथ्वीका हरेक जनावरहरुलाई हाम्रो माया र सदाचारको खाँचो छ र शायद तिहारका यमपञ्चकका अवधिले हामीलाई यहि ज्ञान दिन खोजेको हुनुपर्छ । विज्ञानले पनि पारिस्थितिकी तन्त्र का रुपमा हरेक प्राणिहरुको अस्तित्व एकअर्कासँग सम्बन्धित देखाएको छ । माया दिऔ, माया बाँडौं अनि माया पाँऔं, सबैको मङ्गल होस्, जीव र मानव जीवनबिचको सुमधूर सम्बन्धको यो यात्रा जूगौ जूग चलिरहोस् ।
आखिर नर्क या नरक के हो त ?
आखिर जन्म र मरण पछिका सनातन विश्वासहरूमा सदैव आउने कुरा नै स्वर्ग र नर्क त हो । राम्रो कर्म गरेमा स्वर्ग जाने र नराम्रो कर्म गर्दा नर्क जाने जनमान्यता छ । यो सनातन दर्शनमा मात्र नभई लगभग हरेक धर्म र विश्वासमा पाइने तर्क हो । नर्क कसैको रोजाई मा पर्दैन किनभने नर्कमा अनेक सास्ती र दुख्नका भोगाई रहने विश्वास गरिन्छ ।
वैतरणी नदी तरेमा मात्र स्वर्ग पुगिन्छ भन्ने मान्यता छ । नरक चतुर्दशी मात्र यस्तो तिथि हो जहिले नर्कको उपस्थिति र केही हदसम्म नर्कको महत्त्व पनि बयान गर्दछ । नर्क बिनाको स्वर्गले खासै मान्यता राख्दैन, नर्क चर्तुदशी ले यस कुरालाई सबैलाई विचारयोग्य बनाएको छ ।
यस चर्तुदशी ले हरेक मान्छेलाई नर्कमा नजानका लागि सत्कर्मको बाटो अवलम्बन गर्न पैरवी पनि गर्दछ । यस दिन नर्के नुहाउने चलन हुन्छ, तिलको तेल दलेर जलाशयमा नुहाउनुलाई नर्के नुहाउने भनिन्छ, कार्तिकको यस मन्द जाडोमा नुहाएपछि तिलका झिँगडाहरु बालेर ताप्ने चलन छ । आजको दिन बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्कार्इ बाली बगाउनाले मृत्युपछि नर्कको दर्शन गर्नुनपर्ने धार्मिक विश्वास छ । यसरी बत्ति बालेर बगाउने कार्यलाई नरके बगाउने भनिन्छ।
स्नान गर्दा हरेक पल नर्क नजानका लागि सत्कर्म गर्ने तत्परता र धर्मको पथमा हिँड्ने वचनलाई आत्मसाथ गरिनुपर्दछ । भन्ने नै हो भनेँ नर्क र स्वर्ग पृथ्वीमा नै छ, नर्क चर्तुदशी ले सबैलाई कर्मको पथमा सत्यले डोर्याउन सकोस् ।