सर्लाही — नेपाली कांग्रेसको संस्थापन र इतर पक्षको कार्यकर्ताबीच बिहीबार अपरान्ह विवाद भएको छ । सर्लाही सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा दुई पक्षबीच विवाद भएको हो । पार्टीका कार्यकर्ताबीच कुटाकुट हुँदा दुवै पक्षका आधा दर्जन भन्दा बढी नेता तथा कार्यकर्ता समान्य घाइते छन् । संस्थापन पक्ष पार्टी अफिस भित्र छन् भने इतर पक्ष पार्टी कार्यालय बाहिर छन् ।
बीचमा प्रहरीले घेरा हालेर बसेको छ । जिल्ला सभापति नागेन्द्र कुमार राय प्रधानमन्त्री शेरबहादुर देउवा निकट र पूर्व जिल्ला सभापति लक्ष्मण राय वरिष्ठ नेता रामचन्द्र पौडेल निकट छन् । रायद्वय दुवै पार्टीका सभापतिका दाबेदार हुन् ।
यसअघि भएको दुई पक्षको सहमतिअनुसार जिल्लामा बिहीबार वडाअधिवेशनको मिति तोकिएको थियो । तर मतदान अधिकृत खटनपटनमै विवाद चुलिएको थियो ।निर्वाचन अधिकृत दिवाकर पाण्डेले बिहीबार एकपक्षीय रूपमा नामावली सूची सार्वजनिक गरेपछि विवाद भएको थियो । उनीहरूले रातारात निर्वाचन कार्यालय पार्टी कार्यालयबाट सभापति निकट होटेलमा राखेकोमा पनि आपत्ति जनाए ।विवादको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले कांग्रेस इतर पक्षका नेताद्वय विनोद खनाल र बलिराम झा माथि पेस्तोल ताकेपछि झडप भएको पूर्व सभापति लक्ष्मण रायले बताए ।यता सभापति नागेन्द्र कुमार रायले वडाअधिवेशनका लागि मतदान अधिकृत खटाउने विषयमा कुराकानी भइरहेको बेला निर्वाचन अधिकृतलाई घेरा हालेर हातपात गरेको दाबी गरे ।जारी विवादका कारण बिहीबारका लागि तय गरिएको कांग्रेसको वडा अधिवेशन अझै पनि अनिश्चित नै बनेको छ । बिहीबार अपरान्हसम्म पनि मतदान अधिकृत वडामा पुग्न सकेका छैनन् । मतदान अधिकृत नपुग्दा निर्वाचनको अन्य गतिविधि बढ्न सकेको छैन ।

अघिल्लो सामग्रीप्रदेश २ का चार मन्त्रालयमा सचिव नहुदा प्रशासनिक गतिविधि अन्योलमा
यसपछिको सामग्रीवडाध्यक्षहरूले लगाए जनकपुरका नगर प्रमुखको कार्यकक्षमा ताला