कार्तिक ११,रौतहट
मुम्बई ड्रग्स प्रकरणमा भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानले जमानत पाएका छन् । गएको मङ्गलवारदेखि आर्यन खानको जमानत निवदेनमा मुम्बई उच्च अदालतमा सुनुवाइ चलिरहेको थियो । गएको तीन हप्तादेखि आर्यन खान जेलमा थिए ।
यस मामिलामा आर्यनसँगै अरबाज मर्चेन्ट र मुनमुम धमेचाले पनि जमानत पाएका छन् । यस मामिलामा पूर्वमहान्यायाधिवक्ता मुकुल रोहतगीले आर्यन खानको पैरवी गरेका हुन् । यो फैसलापछि मुकुल रोहतगीले भने, ‘मुम्बई उच्च अदालतले तीन दिनसम्मको सुनेपछि आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुन धमेचालाई जमानत दिएको छ । विस्तृत आदेशको कपी भोलि दिइनेछ । शनिवारसम्म सबै जेलबाट बाहिर हुने आशा छ ।’आर्यन खानलाई एक क्रुजमा भएको कथित रेभ पार्टीको मामिलामा नारकोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले गएको अक्टोबर ३ मा पक्राउ गरेको थियो ।यसअघि आर्यन खानको जमानत निवेदन दुई पटक खारेज गरिएको थियो ।