२३,असोज,रौतहट

प्राचीन मिथिलाको राजधानी जनकपुरधामस्थित राम मन्दिरको उत्तरतर्फ रहेको राजदेवीको मन्दिरमा दसैँभर महिलालाई प्रवेश गर्न दिइँदैन । राजर्षी जनककी कुलदेवी अर्थात् राजदेवी मन्दिर जनकपुरधामका शक्तिपीठमध्येकै प्रमुख हो । महिलालाई भित्र छिर्न नदिए पनि ठुलो संख्यामा महिला यो मन्दिरमा दर्शनका लागि आउने गर्दछन् । उनीहरू घण्टौँ उभिएर मन्दिरको बन्द रहेको झ्याललाई छोएर पूजा र भाकल गर्ने गर्दछन् । धार्मिक आस्थाले गर्दा महिलाहरू यो परम्परालाई यथावत राखे पनि कतिपय अधिकारकर्मीले मन्दिरभित्र छिरेर दर्शन गर्न पाउनुपर्ने भन्दै आवाज उठाउन थालेका छन् ।
जनकपुरमा नवरात्रिको प्रारम्भसँगै विभिन्न मठमन्दिर र शक्तिपीठमा विशेष भिड लागे पनि राजदेवी मन्दिरमा भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म महिलालाई दर्शन गर्न निषेध गरिने परम्परा अझै पनि कायमै छ ।सो अवधिमा महिलाका लागि मन्दिरको एक झ्याल खुल्ला गरिएको हुन्छ भने सोही झ्यालबाट पूजाअर्चना गरेर फर्किन्छन् । त्रेतायुगमा राजा जनकको कुलदेवीका रुपमा पुजिँदै आएकी राजदेवीको मन्दिरमा परापूर्वकालमा पूजा गर्न एक महिला मन्दिरको भित्री भागमा प्रवेश गरेको र उनी बेपत्ता भएको राम मन्दिरका पूजारी राम गिरी बताउँछन् । त्यसैले राजदेवी मन्दिरभित्र महिलालाई प्रवेशमा रोक लगाइएको उनको भनाइ छ ।राम मन्दिरका पूजारी गिरीले भने, रजस्वला भएका महिला पनि पूजाका लागि आउने गरेकाले मन्दिरमा महिलाको प्रवेशमा रोक लगाइने परम्परा छ । तान्त्रिक विधिमा पूजा हुने भएकाले पनि महिलालाई राजदेवी मन्दिर भित्रमा माताको प्रतिमा छोएर पूजाआजा गर्नबाट रोक लगाइएको हो ।
२०२० सालमा नरेशानन्द गिरी नामका महन्तले यहाँको बलिप्रथा रोकेर बलि चढाएनन् । बलि नचढाउँदा उनलाई अनिष्ट भयो र पछि क्षमापूजा गरी बलि चढाइएको पनि उनले बताए । अधिवक्ता रेखा झाले राजदेवी माता पनि महिला हुन् भन्दै महिलालाई राजदेवी माताको दर्शन गर्न र छोएर पूजाआजा गर्न दिनुपर्ने माग गरिन् ।

अघिल्लो सामग्रीलागुऔषध सहित २ जना ब्यत्ति पक्राउ
यसपछिको सामग्रीचाडपर्वमा तरकारी,फलफूलको भाउमा मनोमानी