२१ असोज, रौतहट (सास)
सेवाग्राहीले आवश्यक कागजात सबै पुर्याएर ल्याए छिटो र सहजै सेवा लिन सक्ने रौतहटका प्रजिअ इन्द्रदेव यादवले बताएका छन ।सो कार्यालयमा सेवाग्राहीहरुले सामान्य कामको लागि पनि सास्ती भोग्नु परेको गुनासो आएपछि प्रजिअ इन्द्रदेव यादवले आवश्यक सम्पूर्ण कागजात सेवाग्राहीले ल्याएमा सेवाग्राहीको चापको अवस्था हेरेर सोही दिनमै सेवा दिने गरेको बताएका छन ।
आवश्यक कागजात नल्याउने, दलाल खोज्दै हिड्ने गरेकाले काममा ढिलो हुने गरेको बताउँदै प्रजिअ यादवले दलालहरुको पछि लाग्नु भन्दा कार्यालयका कर्मचारीले भने अनुसार अपुग कागजातको व्यवस्था गरी सेवा लिन सेवाग्राहीसँग आग्रह गरेका छन ।सेवाग्राहीले दलाल मार्फत गयो भने काम तुरुन्त हुन्छ भन्ने भ्रम त्याग्नु पर्ने र उनीहरु ठगिने सम्भावना रहेकोले कोहि कसैले जिल्ला प्रशासन कार्यालयको काम गराइदिन्छु भन्दै पैसा मागेमा सुचना दिन प्रजिअ यादवले आग्रह गरेका छन ।
सेवाग्राहीलाई थप सहज होस् भनेर चा“डै कार्यालयमा ‘हेल्प डेस्क’ स्थापना गर्ने तयारी रहेको र सेवा प्रवाहमा कुनै गुनासो भए गुनासो सुन्ने अधिकारी वा सिधैं आफुलाई भेट्न सेवाग्राही संग अनुरोध गरेका छन ।कार्यालयले साउन र भदौ दुइ महिनामा मात्र ४ हजार ९ सय २२ नयाँ नागरिकता , १ हजार ६५८ नागरिकताको प्रतिलिपि, २ हजार ३ सय १२ राष्ट्रिय परिचय पत्रको विवरण दर्ता , १ हजार ४ सय ३६ राहदानीको निवेदन दर्ता , ४ सय ७६ राहदानी विभाग सिफारिस , ५ सय ६७ राहदानी वितरण गरेको कार्यालयका नायव सुब्बा राम नरेश साहले जानकारी दिएिएका छन । असोज महिनाको १९ गतेसम्म १ हजार ३ सय ७२ नयाँ नागरिकता र ५ सय ७३ नागरिकताको प्रतिलिपि जारी गरिसकेको नायव सुब्बा साहले बताएका छन ।जिल्ला प्रशासन कार्यालय रौतहटमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सेवा प्रदान गर्न केही समस्या भइरहेको बताइएको छ ।कार्यालयमा १० जना सुब्बाको दरबन्दी भएपनि हाल जम्मा ३ जना मात्र कार्यरत छन् । त्यसैगरी ३ जना अधिकृतको दरबन्दी रहेको हाल एकजना मात्र कार्यरत छन् ।सीमित कर्मचारी बाट पनि सेवा प्रदान गर्दै आइरहेका जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।