असोज ९
काठमाडौं- नेपाल राष्ट्र बैंकले मुलुकभर सुन कति खपत हुन्छ भनेर अध्ययन गर्न थालेको छ ।सुन व्यवसायीले सुनको अभाव भएको भन्दै बारम्बार कोटा बढाउन केन्द्रीय बैंकलाई दबाब दिन थालेपछि उसले सुन खपत कति हुन्छ भनेर अध्ययन गर्न थालेको हो ।नेपाल राष्ट्र बैंकले सुन आयातका लागि बैंकहरुलाई अनुमति दिने गरेको छ । नेपाल बैंकर्स संघमार्फत बैंकहरुले त्यस्तो सुन आयात गर्दै आएका छन् । अहिले बैंकहरुले दैनिक २० किलोका दरले मात्र कच्चा सुन ल्याउँदै आएका छन् । त्यसरी ल्याएको सुन बैंकमार्फत व्यवसायीले खरिद गर्दै आएका छन् ।
दैनिक २० किलोका दरले सुन ल्याउँदा अपुग भएको भन्दै व्यवसायीले राष्ट्र बैंकसँग त्यस्तो सुनको कोटा बढाउन माग गरिरहेका छन् । सुन व्यवसायीले गत भदौं ३० गते नेपाल राष्ट्र बैंक पुगेर सुनको माग अत्याधिक भएको र मागको तुलनामा आपूर्ति कम भएको भन्दै आयात बढाउन दबाब नै दिएका थिए ।
तर, राष्ट्र बैंकले सुन व्यवसायीले भनेको आधारमा मात्र सुनको कोटा बढाउन नसकिने बताएको थियो । केन्द्रीय बैंकले सुन खपतको बिस्तृत विवरण माग गरेको थियो । राष्ट्र बैंकले माग र आपूर्तिबीचको सन्तुलन मिलाउने तयारी गरेको छ ।
सुनमा भइरहेको अवैध कारोबार रोक्ने पहल भइरहेको राष्ट्र बैंकको भनाइ छ । सुन नेपालमा खपत बढी देखाएर चोरी पैठारी भारतमा समेत हुने गरेको केन्द्रीय बैंकको ठहर छ ।
अर्थ / व्यापार सुन उपभोग बारे अध्ययन गर्दै राष्ट्र बैंक