काठमाडौं । प्रतियोगिता आयोजना गर्दैमा घरेलु टिमले राम्रो गर्छ भन्ने केही छैन् । सन् १९९७ को साफ च्याम्पियनसिप नेपालले अहिलेसम्म खेलेका फुटबलका प्रतियोगितामध्ये सबैभन्दा खराब मान्न मिल्नेमा पर्छ ।प्रतियोगिता सुरु हुन अगाडि नेपाल उपाधिको सबैभन्दा बलियो दावेदार थियो, त्यहीं प्रतियोगिताको अन्त्यसम्ममा नेपाल सबैभन्दा खराब टिम सावित भयो ।
त्यही बेलादेखि त हो, भन्न थालेको, नेपालका लागि साफ च्याम्पियनसिप फाप्दैन् । सेप्टेम्बर ४ देखि १३ सम्म आयोजित प्रतियोगितामा ६ टिम सहभागी थिए र तिनलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो ।’ए’ समूहमा नेपालसँग श्रीलंका र पाकिस्तान थिए । नेपालले आफ्नो पहिलो खेलमै पाकिस्तानसँग २–० ले पराजित भयो र दबाबमा आइहाल्यो ।आफ्नो दोस्रो खेलमा पनि नेपाल श्रीलंकासँग ३–१ ले पराजित भयो । नतिजा नेपाल लिग चरणबाटै बाहिरियो । श्रीलंकाविरुद्ध एक सान्त्वना गोल दीपक अमात्यले गरेका थिए ।
श्रीलंका र पाकिस्तान सेमिफाइनल पुगे । अर्को समूह ‘बी’ मा भारत, माल्दिभ्स र बंगलादेश थिए । भारत र माल्दिभ्सले सेमिफाइनल यात्रा तय गरे।सेमिफाइनलमा माल्दिभ्सले श्रीलंकालाई हरायो भने भारतले पाकिस्तानलाई । दक्षिण एसियाली फुटबलमा माल्दिभ्स शक्ति हुँदैछ भन्ने पहिलो संकेत यही प्रतियोगिताबाट प्राप्त भएको थियो।माल्दिभ्स कुनै पनि फुटबल प्रतियोगिताको फाइनल पुगेको यो नै पहिलो अवसर थियो । उपाधिको भिडन्तमा भने भारत नै बलियो सावित भयो र बन्यो, साफ च्याम्पियन ।