रौतहट,०३ असोज
असोज ३ गते अर्थात संबिधान दिवस , संबिधानसभा बाट संबिधान लेखिएको दिन । यस दिनलाई सरकारले तिन दिनसम्म मनाउन सर्कुलर जारी गरेको छ। सतारुढदल नेपाली कांग्रेस,समाजबादी,प्रतिपक्षी दल एमाले आजको दिनलाई पर्वकोरूपमा मनाईरहेका छन ।
मधेसबादी दल मध्ये उपेन्द्र यादव नेतृत्वको दलले संबिधान दिवस न मनाएर मौन बस्ने निर्णय गरेको छ भने महन्त ठाकुर नेतृत्वको दलले बिरोध गर्ने अर्थात कालो दिनको रूपमा मनाउने छ । प्रमुख प्रतिपक्षी केपि ओलि नेतृत्वको दल एमालेले संबिधान दिवस मनाई रहंदा उनकै दलका एकजना पुर्व मन्त्री तथा प्रदेश २ का पुर्व अध्यक्ष प्रभु साहले भने संविधान दिवसका दिन बिरोधमा उत्रेको देखिन्छन् । उनले संबिधान संशोधन आवश्यक रहेको बिचार राखेका छन् । पुर्वमन्त्री प्रभु साहले बर्तमान संबिधान घोषणा भैरहेको समय पनि हस्ताक्षर नगरेर बिरोध गरेका थिए । त्यतिबेला पनि उनले संबिधान नेपाली जनताको मर्म र भवना बिपरित रहेकाले परिमार्जन जरुरी रहेको बताउंदै आएका छन । नेकपा माओवादी पृष्ठभुमिका नेता प्रभु साह आफुलाई एमाले भनाउनु भन्दा कम्युनिस्ट नेता भन्न रुचाउछन् । केपि ओलि प्रधानमन्त्री रहेको समय उनको धेरै निकट मानिएका उनी पछिल्लो समय टाढिएको देखिन्छ ।
पुर्व मन्त्री प्रभु साहले संविधान दिवसका दिन आफ्नो अधिकारिक फेसबुक अकाउन्ट्मा संबिधान पुनरावलोकन हुन जरुरी रहेको बिचार राखेका छन ।
मुलुकमा राजनीतिक संकट गहिरिदै गएको सन्दर्भमा वर्तमान संवैधानिक व्यवस्थाहरुको पुनरावलोकन जरुरी छ । दुनियामा कहिँ नभएको गलत प्रावधानहरु नेपालको संविधानमा षडयन्त्रपूर्ण ढंगबाट जबरदजस्ती समाविष्ट गराएकैं कारण आजको जटिल अवस्था सृजना भएको उहाले पोष्ट गर्नु भएको छ । नेपाल जस्तो सानो मुलुकमा ७६१ वटा सरकार बनाउने, संघीय मुलुकमा अनावश्यक तीन तह निर्माण गर्ने, शासक जातिलाई आरक्षण दिने, अनावश्यक दर्जनौं संवैधानिक आयोग बनाउने, दोहोरो नागरिकता सम्बन्धि गलत व्यवस्था गर्ने, पुरानै न्याय प्रणाली र कर्मचारीतन्त्र राख्ने, सन्तुलन बिनाको शक्ति पृथकीकरण, पक्षपातपूर्ण ढंगले राजस्व तथा शक्तिको बाँडफाँड गर्ने, दलाल जन्माउने निर्वाचन प्रणाली, अस्थिरता र विभेद बढाउने शासन प्रणाली जस्ता अस्वभाविक गलत प्रावधानहरुले गर्दा नै आज देश अस्तव्यस्त एवं अन्योलग्रस्त भएको छ उनले भनेका छन ।
प्रभु साहले संविधानमा रहेका यी गम्भीर त्रुटीहरु नसच्याएसम्म वास्तविक अर्थमा संविधान दिवसको औचित्य रहदैन भनेका छन । तसर्थ, संविधान कार्यान्वयनको ७ वर्षको अनुभवको आधारमा लोकतन्त्र, राष्ट्रियता, स्थायित्व एवम् समृद्धिको आमजनताको चाहना मुख्यतः जनयुद्ध र जनआन्दोलनको माग अनुरुप संविधानको पुनर्लेखन गरि देशलाई सहि दिशा निर्देश गरौं नेता प्रभु साहले सामाजिक संजालमा आफ्नो बिचार राखेका छन ।