सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष २०७८÷०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । पर्साको सिरिसियामा रहेको यहाँ विभिन्न मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट कन्टेनरमार्फत नेपालमा सामग्री भित्रिन्छ । यहाँ एकपटकमा ९० वटासम्म कन्टेनरमार्फत विविध सामग्री नेपालमा आउने गर्दछ ।गत साउन र भदौमा कूल रु सात अर्ब सात करोड ५३ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको थियो । त्यसमा लक्ष्यभन्दा २० दशमलव ९६ प्रतिशतले वृद्धि भई कूल रु आठ अर्ब ५५ करोड ८१ लाख राजस्व सङ्कलन भएको छ ।
लामो समयको कोभिड–१९ को असहज अवस्था बिस्तारै सुधार हुँदै जाँदा भारतसहित तेस्रो मुलुकबाट नेपालमा पछिल्लो समय सामग्रीको आयात बढेकाले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको कार्यालय प्रमुख डा लालबहादुर खत्रीले जानकारी दिए ।
बढी राजस्व सङ्कलन हुनेमा भन्सार महसुल पैठारीतर्फ रु कूल तीन अर्ब ९० करोड ८२ लाख ९६ हजार र मूल्य अभिवृद्धि करतर्फ कूल रु तीन अर्ब ९८ करोड ७६ लाख ८५ हजार ६७१ रुपैयाँ सङ्कलन भएको छ ।
यस नाकामा विशेष गरी भारतसहित जापान, अमेरिका, बेलायत, इजरायल, दक्षिण कोरिया, खाडी क्षेत्रका विभिन्न देशबाट सामग्री आयात हुन्छ । ठूला उद्योग कलकारखानाका लागि आवश्यक कच्चा पदार्थ, सवारी साधन, उपकरण तथा सामग्री, मदिराजन्य पदार्थ, तयारी पोशाकलगायत सामग्री तेस्रो मुलुकबाट भित्रिन्छ । रासस

अघिल्लो सामग्रीभारतसँग सीमा जोडिएका ८ वटै नाका खुला
यसपछिको सामग्रीसाझावाणी दैनिक असोज १२ गतेको ई-पेपर