७ आश्विन,काठमाडौं
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले एएफसी महिला एसियन कप २०२२ छनोटमा सक्दो राम्रो खेल खेलेको बताएकी छिन् । उज्वेकिस्तानबाट स्वदेश फर्किएपछि विमानस्थलमा संचारकर्मीसँग बोल्दै कप्तान रेनुकाले राम्रो खेल खेलेको बताएकी हुन् । रेनुकाले छनोटमा सावित्रा भण्डारी -साम्बा_ लाई धेरै मिस गरेको समेत बताईन् ।
‘सबैले राम्रो खेल्यौं । नेपालमा खेलेको मैत्रीपूर्ण भन्दा उता राम्रो भएको थियो,’ उनले भनिन्, ‘यस पटक साम्बालाई धेरै मिस गर्यौं । साम्बा भएको भए हामी छनोट हुन्थ्यौं ।’नेपाली महिला फुटबलमा गोल मेसिन रहेकी सावित्रा चोटको कारण टिममा रहेकी छैनन् । उनी चोटको शल्यक्रियाको लागि कतारमा रहेको छिन् । चोटको सफल शल्यक्रियापछि उनी रिहाबमा रहेकी छिन् ।विभागीय टिम एपीएफ क्लबकी सावित्राको महिला लिगको दौरान दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट -एसिएल_ च्यातिएको थियो । छनोटको समूह एफमा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस्रो खेलमा मंगलबार हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो।
नेपालले छनोटमा २ खेलमा १ अंक जोड्यो । नेपाल पुछारमा रह्यो । पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २-१ गोल अन्तरले पराजित भएको थियो। कप्तान रेनुकाले डिफेन्स कमजोर हुँदा फिलिपिन्ससँग अन्तिम समयमा हार व्यहोर्नु परेको समेत बताईन् । त्यस खेलमा हाम्रो डिफेन्स कमजोर भयो । पहिलो हाफमा जारी खेलेको थियौं, दोस्रो हाफमा त्यसरी खेल्न सकेनौं । त्यसले दबाब भयो र गोल खान पुग्यौं । दबाब झेल्न सकेनौं । हामीले मैदानमा अनुभव देखाउन सकेनौं,’ उनले भनिन् ।