भद्र,०२
जनकपुर/प्रदेश सरकार गठनको चार वर्षमा प्रदेश २ मा चार जना प्रदेश प्रमुख फेरिएका छन् । अरू प्रदेशभन्दा संघीयता कार्यान्वयनको फरक अभ्यास गरिरहेको दाबी गर्ने प्रदेश २ मा संघ सरकारको सत्ता समीकरण फेरबदलसँगै प्रदेश प्रमुखको पद धरापमा पर्दै आएको हो ।संघ सरकारले सोमबार प्रदेशका प्रमुख राजेश झा (अहिराज) लाई पदमुक्त गर्दै कांग्रेस नेता हरिशंकर मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । गत फागुन ७ गते तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले झालाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । कार्यकालको करिब ६ महिना नपुग्दै झालाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पदमुक्त गरेको छ । तत्कालीन नेकपाको विवाद उत्कर्षमा पुगेका बेला ओली सरकारले त्यतिबेलाका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै झालाई नियुक्त गरेको थियो । परियार माओवादी केन्द्रका नेता हुन् । उनलाई भने तत्कालीन नेकपा सरकारले २०७६ कात्तिक १७ गते प्रदेश प्रमुख नियुक्त गरेको थियो ।
नेकपामा ओली–दाहालबीच खटपट हुन थालेपछि दाहालको कोटामा प्रदेश प्रमुख बनेका परियारलाई कुनै सूचना नै नदिई सरकारले अचानक पदमुक्त गरेको थियो । त्यसपछि, पहिलैदेखि प्रदेश २ प्रमुख ताकिरहेका झालाई ओली सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । प्रदेश संरचना बनेसंगै तत्कालीन देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ को पहिलो प्रदेश प्रमुख नियुक्त गरेको थियो । सरकारी सेवाबाट अवकाशप्राप्त कायस्थ जनता समाजवादी पार्टी निकट हुन् । प्रदेश २ मा यादवकै दलको सरकार रहेकाले त्यतिबेला देउवा सरकारले कायस्थलाई प्रदेश प्रमुख तोकेका थिए ।
प्रदेश सरकार स्थापना भएयता प्रदेश २ मा कायस्थ, परियार, झा र अहिले मिश्र गरी चार जनाले जिम्मेवारी पाएका छन् । प्रदेश प्रमुख हुँदा कायस्थ र परियारको कार्यकालमा प्रदेश २ सरकारसंग राम्रै सम्बन्ध रहे पनि पछिल्लो समय झा आउँदा खटपट बढेको थियो । प्रदेश प्रमुखको ६ महिने कार्यकालमा झा र प्रदेश सरकारबीच दूरी बढ्यो । झाको नियुक्तीमै असहमति राखेको प्रदेश सरकारले उनलाई स्वागत गर्नै अनाकानी गरेको थियो । पछि, मुख्यमन्त्री लालबाबु राउत र न्यायाधीवक्ता दीपेन्द्र झाले उनलाई औपचारिक स्वागत गरेका थिए । झाले कार्यकाल सम्हालेलगत्तै जनकपुरस्थित आफ्नो कार्यकक्ष र निवासमा राष्ट्र निर्माता पृथ्वीनारायण साहको पूर्णकदको तस्बिर राखे । त्यो तस्बिर राख्नुको अर्थ एकीकृत राज्य चाहेको, संघीयता नरुचाएको बुझ्दै प्रदेश सरकार उनीसित रुष्ट बन्यो ।
अघिल्ला दुई प्रदेश प्रमुख कायस्थ र परियारले प्रदेश सभाबाट पास हुने हरेकखाले विधेयक प्रमाणीकरण गरिदिएपनि अहिराजले भने आफ्नो ६ महिने कार्यकालमा २ वटा बिधेयक प्रमाणिकरण नगरी सुझावसहित फिर्ता पठाइदिए । स्वास्थ्य सेवा सम्बन्धी र प्रदेश पदकसम्बन्धी बनेको बिधेयक अहिराजले सुझावसहित फिर्ता पठाउँदा राउत सरकारसित उनको दूरी झन् बढ्यो । गत असार २९ गते प्रदेश २ सरकारको कांग्रेस सारथि बनेपछि अहिराजले सरकारलाई दुई पृष्ठको पत्र लेख्दै सरकारलाई समावेशी बनाउन सुझाव दिए । यो मामिलामा पनि प्रदेश सरकार उनीसित असन्तुष्ट बनेको थियो । कार्यक्षेत्रभन्दा बाहिर गएर सरकारलाई पत्र लेखेको भन्दै मुख्यमन्त्री राउतको सचिवालयले उनको पत्र तामेलीमा राखिदिए । प्रदेश प्रमुख बनेपछि उनले आफ्नो पहिरनलाई धार्मिक रंग मात्र दिएनन्, कार्यकक्षको कुर्सीमा जयश्री राम लेखिएको गम्छा नै राखे ।
राज्यले नै धर्मको विषयमा फरक संवैधानिक व्यवस्था गरेकोमा अहिराजले प्रदेश २ लाई हिन्दु राज्यको गतिविधि थाल्ने थलो बनाउने मुडमा देखिन्थे । प्रदेश सरकारलाई उनको यो गतिविधि पनि मन परेको थिएन् । राजनीति दलका नेता र मन्त्रीजस्तै लगालग जिल्ला भ्रमण गर्ने र सीमा नाकाको निरीक्षणदेखि घरघरै पुगेर भेटघाट तीव्र पारेपछि अहिराजसँग प्रदेश सरकार रुष्ट बनेको थियो ।
राजनीति दलसँग आबद्धलाई प्रदेश प्रमुखमा नियुक्त गर्दा सत्ता समीकरण फेरिएसँगै पहिलो तरवार त्यही प्रहार गर्ने प्रवृत्ति अहिले विकसित भएको जनकपुरका बुद्धिजीवी डा. सुरेन्द्र लाभले बताए । सरकार बदलिँदा प्रदेश प्रमुख फेर्नु प्रवृती राम्रो होइन, उनले भने, प्रदेश प्रमुखलाई प्रतिशोधपूर्ण राजनीति हतियार बनाउँदा नकारात्मक सन्देश दिएको छ ।
मिश्रको संयोग
२०२१ सालमा रुस सरकारको सहयोगमा जनकपुर चुरोट कारखाना (जचुकालि) को स्थापना भयो । बीपी कोइरालाको सरकारमा उद्योग, बाणिज्य मन्त्री रहेका रामनारायण मिश्रको जोडबलमा बनेको जचुकालिमा अहिले प्रदेश २ सरकारको सचिवालय छ । त्यहीभित्र छ, प्रदेश प्रमुखको कार्यालय र निवास । उनै रामनारायणकै छोरा हरिशंकर मिश्र प्रदेशको प्रमुखमा सिफारिस भएका छन् । महोत्तरी, पिपराका रामनारायणको जचुकालिभित्र शालिक पनि छ ।
२००२ सालमा जन्मिएका हरिशंकर सानै उमेरमा राजनीतिमा लागेका थिए । २०४८ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य बनेका मिश्र २०५१ सालमा पराजित भएका थिए । पछिल्लो समय उनी राजनीतिमा निष्क्रिय बनेको टिप्पणी हुने गरेको थियो । कांग्रेस नेता र गठबन्धन सरकारले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारी हरहालतमा पूरा गर्ने मिश्रले बताए ।
प्रदेश खवर ४ वर्षमा ४ प्रदेश प्रमुख पनि फेरिए