२७श्रावण,काठमाडौं
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले क्लबमा नेयमार र केलियन एमबाप्पेसँग खेल्न पाउँदा आफुलाई धेरै खुसी लागेको बताएका छन् । पीएसजीमा अनुबन्धित भएपछिको पहिलो पत्रकार सम्मेलनमा बोल्दै मेस्सीले दुई स्टारसँग एकै क्लबबाट खेल्न पाउदा धेरै खुसी लागेको बताएका हुन् ।
नेयमार र एमबाप्पेसँग खेल्न पाउदा म धेरै खुसी छु । यो पागलपन हो र मलाई धेरै इर्ष्या लाग्यो । तर,म संसारकै सर्वश्रेष्ठ खेलाडीसँग खेल्दै छु । यो सधै राम्रो हुन्छ, मेस्सीले पत्रकार सम्मेलनमा भने । मेस्सीको आगमनसँगै पीएसजीमा ‘एमएमएन’ ट्रिओको चर्चा सुरु भएको छ । अब पीएसजीमा मेस्सी, एमबाप्पे र नेयमारको ट्रिओको अग्रपंक्ति हुनेछ । र, यस ट्रिओ अहिलेको विश्व फुटबलकै उत्कृष्ट अग्रपंक्तिको रुपमा लिईएको छ ।
३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका हुन् । पीएसजीले मेस्सीलाई सम्झौता थप गर्नका लागि विकल्प समेत दिईएको छ । ६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् । बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।
यस्तै मेस्सीले बार्सिलोना छाड्नु आफुलाई निकै कठिन भएको समेत बताए ।बार्सिलोनाबाट बाहिरिनु धेरै गाह्रो थियो । तर, सक्दो चाँडो म यहाँ आइपुगे । म धेरै खुसी छु र म आगमनको आनन्द लिइरहेको छु । म टिमसँग चाँडो प्रशिक्षण गर्न चाहन्छु,ु उनले थपे ।