साउन १९, काठमाडौं
दोस्रो जनआन्दोलनपछि सञ्चारका माध्यममा व्यापक वृद्धि भएको छ । केही वर्षअघिसम्म मुख्यधार नमानिने अनलाइन सञ्चारमाध्यमले प्रिन्ट संस्करणलाई आच्छुआच्छु पार्न थालेको टिप्पणी आम छ ।यता टेलिभिजनलाई पनि युट्युबले यसैगरी हायलकायल बनाइरहेका छन् । ठूलो लगानी र मेहनतका साथ टेलिभिजनमा प्रस्तुत हुने कार्यक्रममा भन्दा खेलाँची गरे जस्तो गरी तयार गरेका सामाग्रीले दर्शक ज्यादा पाउने गरेका छन् । समग्रमा अहिले नेपालको मिडियामा लोभलाग्ने परिवर्तनहरू देखिइरहेका छन् ।
नेपालको मिडिया क्षेत्रमा देखिइरहेका यिनै परिवर्तनलाई पहिचान गर्ने र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ड्रिमहाई नेपालले ‘मिडिया अवार्ड’ गर्ने निर्णय गरेको छ । ‘नेपाल मिडिया अवार्ड २०७८’ नाममा निकट भविष्यमै हुन गइरहेको यो अवार्डले मिडियाका विविध स्वरुप र विधालाई समेटेर अवार्ड कार्यक्रम गर्न लागेको हो ।एफएफ, टेलिभिजन, युट्युब, प्रिन्ट र अनलाइनका विविध विधालाई समेटी गरिने अवार्ड ‘सेलिब्रेटिङ विथ चेन्जमेकर्स’ थिमका साथ हुन लागेको आयोेजक ड्रिम हाई नेपालका अध्यक्ष कमल जिसीले जनाएका छन् ।
निकट भविष्यमै हुन लागेको यो अवार्डमा सञ्चारमाध्यमका मुख्य विधाको पहिचान गर्ने र त्यो विधामा उत्कृष्ट काम गरिरहेकाहरू सूची तयार गरी मनोनयन सार्वजनिक गरिन्छ । यसरी मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता वा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्यांकन गरी विजेताको घोषणा गरिनेछ ।सन् २०१८ मा स्थापना भएको ड्रिम हाई नेपालले नेपथ्य कन्सर्ट, अनमोल केसीको कन्सर्ट कार्यक्रम ‘अनमोल इभ’ र हालसालै फिल्म प्राविधिकहरूको संस्था नेपाल फिल्म प्राविधिक संघले गर्दै आएको ‘नेफ्टा’ अवार्ड आयोजना गरेको हो ।