जनकपुरधाम/जानकी मन्दिरमा एउटा चिम ७ लाख भन्दा बढी मुल्यमा लगाउने बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले त्यहाँ सोलार लगाउन गत आर्थिक वर्षमा नै झिकेको २० लाख रुपैयापनि हजम पारेको छ ।
बृहत्तरको लेखा र प्राविधिक तथ्यांकमा जानकी मन्दिरमा २० लाख रुपैयामा सोलार जडान भएको देखिन्छ ।सोलार जडान भएको कार्य सम्पन्न प्रतिवेदन बृहत्तरका ईञ्जिनियर रुपेश सिंहले दिइसकेका छन् ।सो प्रतिवेदन अनुसार लेखापाल सावित्री गिरि र कार्यकारी निर्देशक बलराम ठाकुरले चेकबाट भुक्तानी समेत गरिसकेका छन् । तर जानकी मन्दिर अथवा त्यसको परिसरमा कतै सोलार जडान भएको साउन २० गते सम्म देखिएको छैन् ।सोलार जडान नै नगरि प्रमुख ठाकुर, लेखापाल गिरि र ईञ्जिनियर सिंहले मिलोमतोमा हजम गरेका छन् । लेखापाल गिरिले विगतमा भ्रष्टाचार ढाकछोप गर्न बृहत्तरको लेखाफाँटका सम्पूर्ण कागजातहरु आगो लगाएर जलाएकी थिइन् ।त्यो प्रकरणमा तत्कालिन लेखा अधिकृत शम्भु साह लगायतका कयौं कर्मचारीहरु माथि मुद्दा चलेको थियो । अधिकांश कर्मचारीहरु जागिरबाट हटाइएका थिए ।
तर गिरिले सर्वोच्चमा नाताको न्यायधिशको तजबिजबाट पूनःबहाली भएकी हुन् । स्रोतका अनुसार बृहत्तरमा बढदो आर्थिक अनियमिततालाई ढाकछोप गर्न फेरी कागजातहरु नष्ट गर्न सकिने संभावना ब्यापक छ ।यस अघि बारहबिघामा माटो पुर्ने काममा आर्थिक अनियमितता गरिएको अभियोगमा लेखापाल उत्तम राज ढकाल निलम्बनमा परेका छन् ।बृहत्तरमा स्थापनाकालदेखिको कयौं वर्ष सम्मको दुरुस्त तथ्यांक छैन् । बृहत्तरले अनधिकृत रुपमा जानकी मन्दिरमा बिद्युतीकरणको कामको नाममा १२ करोड खर्च भएको बताउँदै करोडौ आर्थिक अनियमितता गरेको छ ।बृहत्तरका अध्यक्ष ईञ्जिनियर शालीग्राम सिंहलाई समेत जानकारी नगराई करोडौको काम भएको देखिन्छ । मन्दिरमा जडा नभएको एउटा चिमको मुल्य सात लाख भन्दा बढी परेको दावी बृहत्तरले गरेको छ । तर स्थानीय जानकारहरुका अनुसार नक्कली बिल बनाइ त्यसमा करोडौ आर्थिक अनियमितता भएको छ ।
जानकी मन्दिरले नियमित बिजुलीको बिल समेत भुक्तान गर्न लकडाउनमा समस्या परेको बताएको छ । पुरानो महसुल झण्डै १ करोड बक्यौता छ । तर मन्दिरको सहमति बेगर नै १२ करोडको चिम त्यसमा लागेको बिल भर्पाई बनाई बृहत्तरले रकम झिकेको देखिन्छ । प्रदेश सरकारबाट बृहत्तरले जानकी मन्दिर, बिबाहमण्डप, राम मन्दिर, राजदेवी मन्दिर, गंगा आरती, स्वर्गद्वार(श्मसान घाट गंगासार), सप्तरीको छिन्नमस्ता मन्दिर र बारा जिल्लाको गढीमाई मन्दिरमा विद्युतीकरण गर्ने प्रस्ताव पेशगरि १२ करोड रुपैया लिएको थियो ।
तर जानकी मन्दिरको भित्र र पूर्व तर्फ चिम मात्र लगाइएको छ ।६महिना बढी भइसक्दापनि चिम बलेको छैन् ।चिम राख्न मन्दिरमा ड्रिलले गरेको प्वालबाट वर्षामा सुर्खी बग्न थालेको छ ।
जानकी मन्दिरलाई जानकारी नै नदिई त्यसको नाममा अनेक योजनाको नाममा बृहत्तरले पटकपटक रकम झिक्ने गरेको बताइन्छ ।रकम झिकिएपनि मन्दिरमा काम नै गरिदैन् ।परिक्रमाको क्रममा समेत बृहत्तरमा ब्यापक आर्थिक अनियमितता हुने गरेको आरोप लाग्दै आएको छ ।