रौतहट,०८ भाद्र
जिल्ला प्रहरी कार्यालय, रौतहटले पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ गरेको छ भने दुई प्रहरीलाई निलम्बन गरेको छ । यस घटनामा नेपाल पत्रकार महासंघ रौतहट शाखाका एक पदाधिकारीको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपाल पत्रकार महासंघ, रौतहट शाखाका सहसचिव सञ्जय शहनीद्वारा रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नं. १ वस्ने वर्ष २४ को धिरज यादव र सर्लाही जिल्ला रामनगर–१ बहुअर्वा वस्ने वर्ष २३ को जितेश कुमार यादवलाई मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ । त्यसपछि शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाई कुराकानी गरी पक्राउ गर्न लगाएका थिए । प्रहरीले धीरज यादव र जितेशकुमार यादवलाई पक्राउ गरेको छ । सह–सचिव सहनी फरार छन् । लागु औषध नाईट्रभेट राख्ने धिरज यादव र जितेश कुमार यादवलाई अपराधिक षडयन्त्र लागु औषध मुद्धामा जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान भईरहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गैर व्यवसायिक कार्य गर्ने प्रहरी सहायक निरीक्षक उदय प्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई निलम्बन गरी संलग्नता बारे थप अनुसन्धान गरिरहेको डीएसपी नारायण प्रसाद चिमरियाले जानकारी दिए ।
साउन ३२ मा साँझ ८ बजे रौतहटको गौर नगरपालिका–१ स्थित होटल ग्रिन सिग्नलबाट निस्केका ईशनाथ नगरपालिका–८ घर भएका मोजिबुल्लाह र राजपुर नपा–७ घर भएका शेख गुलाबलाई प्रहरीले पक्राउ गरेको थियो । हालै सार्वजनिक एक सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर पक्राउ गराइएको देखिएपछि अनुसन्धान थालिएको थियो ।
अपराध घटनामा संलग्न प्रहरी निलम्बित पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई युवा पक्राउ