काठमाडौं/नेपाली चलचित्र, टेली चलचित्र, म्युजिक भिडियो, विज्ञापन आदिका कलाकारका लागि छायांकनमा आवश्यक प्रहरीसम्बन्धी सम्पूर्ण सामग्री सहुलियतमा नेपाल प्रहरीले प्रदान गर्ने भएको छ । प्रहरीको भूमिकाका लागि आवश्यक सम्पूर्ण सामग्री एकद्वार प्रणालीबाट प्रहरीले सिनेकर्मीलाई प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाबीच यस विषयमा सहमति भएको हो । लामालाई भेटेर अधिकारीले आफूहरूको समस्या दर्शाएपछि छायांकनका लागि आवश्यक सामग्री एकै स्थानबाट न्यूनतम शुल्कमा प्रदान गर्ने वचन लामाले दिएका छन् ।
नेपाल चलचित्र निर्माता संघका तर्फबाट ६ बुँदे अनुरोधपत्र नेपाल प्रहरीलाई बुझाइएको छ । सो अनुरोधपत्रमा चलचित्रको छायांकनका लागि प्रहरीसम्बन्धी जनशक्तिदेखि सम्पूर्ण सामग्री एकै थलोबाट उपलब्ध गराउन अनुरोध गरिएको छ ।
सो अनुरोधलाई ग्रहण गर्दै आफूहरूले बैठकबाट पारित गरेर चाँडोभन्दा चाँडो लागू गर्ने प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले बताएका छन् । लामाका अनुसार प्रहरी प्रधान कार्यलयमा एउटा शाखा नै छुट्याएर छायांकनका लागि आवश्यक सामग्री र जनशक्तिको सेवा प्रदान गरिनेछ । प्रहरीको कुन दर्जाको कस्तो पोसाक कसरी लगाउने, प्रहरीले कसरी सलाम गर्ने, कस्तो हात हतियार कहाँ प्रयोग गर्ने, कस्तो भाषा बोल्ने जस्ता सम्पूर्ण जानकारी पनि अब सोही शाखाबाट दिइने प्रहरी नायब महानिरीक्षक लामाले बताएका छन् । त्यसका लागि प्रहरी संगठनमा छलफल भइरहेको पनि लामाको कथन छ ।
यस्ता सामग्री नेपाल चलचित्र निर्माता संघको सिफारिसमा मात्र प्रदान गर्न निर्माता संघले प्रहरीलाई आग्रह गरेको छ । छायांकनका लागि यसअघि प्रहरीले दिने गरेको सामग्रीको भाडा महँगो भएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीको कथन थियो । महँगो भाडाका कारण चलचित्रकर्मीले बाहिरबाट नक्कली पोसाक र नक्कली सामग्री सस्तोमा प्रयोग गरेको पनि अधिकारीले अवगत गराएका छन् ।
अध्यक्ष अधिकारीका अनुसार विगतमा प्रहरी भ्यान भाडामा लिँदा घन्टाका ६ हजार रूपैयाँ तिर्नुपथ्र्यो । अब घन्टाको १ हजार रूपैयाँ शुल्कमा उपलब्ध गराउने तयारी हुँदै छ । यस्तै चलचित्र छायांकनका लागि आवश्यक जनशक्ति (प्रहरी जवान) नेपाल प्रहरीबाटै उपलब्ध गराउने छलफल भएको पनि अधिकारीले बताएका छन् । विगतमा प्रहरी जवानलाई बुझाउनुपर्ने शुल्क प्रतिदिन ५ हजार रूपैयाँ भएकोमा त्यसलाई घटाएर १ हजार रूपैयाँ कायम गर्न पनि आफूहरूले अनुरोध गरेको अध्यक्ष अधिकारीले बताएका छन् ।
यस्तै, नेपाल प्रहरीको निगरानीमै आवश्यक राजस्व तिरेर छायांकनमा सक्कली तथा सक्कली जस्तो देखिने हातहतियार प्रयोग गर्न पाऊँ भनेर आफूहरूले अनुरोध गरेको पनि अधिकारीले राजधानीलाई जानकारी गराएका छन् । यसो भएको खण्डमा चलचित्रको प्रहरीसम्बन्धी दृश्य अझ सक्कली र वास्तविक लाग्ने पनि उनको कथन छ । जसका लागि न्यूनतम शुल्क लिएर सेवा दिन प्रहरीसमक्ष निर्माता संघका तर्फबाट आग्रह गरिएको छ ।
यसअघि प्लास्टिकका नक्कली हातहतियार ल्याएर छायांकनमा प्रयोग गर्दा बेलाबेलामा प्रहरीबाट सम्बन्धित पक्षले दुःख पाएकाले अब प्रहरीबाट यस्ता सामग्रीका लागि सम्बन्धित सामान ल्याएर भाडामा प्रयोग गर्न अनुमति दिनुपर्ने पनि निर्माता संघले नेपाल प्रहरीसँग अपिल गरेको छ । यो विषयमा पनि प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामा सकरात्मक रहेको पनि अधिकारीले बताएका छन् ।

अघिल्लो सामग्रीआफैंमा उत्प्रेरणा भरिराखौं
यसपछिको सामग्रीजानकी मन्दिरमा सोलार नलगाई २० लाख झ्वाम्म