श्रावण १०, गोविन्दराज पोखरेल
ठिटा, इँटा र बिटा’ शब्दहरू नेपालमा निर्वाचनताका निकै प्रचलनमा आउने गर्छन्, जसले नेपाली युवाहरूको मानमर्दन गर्छन् । पैसा खर्च गरेर युवाहरू परिचालन गरी, डर–धम्की देखाई जित्न सकिन्छ भन्ने मानसिकता धेरै नेतामा देखिन्छ, चाहे दलहरूको आन्तरिक चुनाव होस् या देशमा हुने जुनसुकै तहका निर्वाचन ।
यसले देखाउँछ, राजनीतिक दलहरूले युवाहरूमा राजनीतिक चेतना, बहस गर्ने संस्कार र लोकतान्त्रिक आचरणको विकास गराउनुभन्दा निहित राजनीतिक स्वार्थका लागि ‘मनी’ र ‘मसल’ को प्रयोग गर्नतिर उद्यत गराउँदै लगेका छन् । यही संस्कारको विकासले युवाहरूमा निराशा, तिक्तता र आक्रोश बढिरहेका कारण राजनीति लोकरिझ्याइँ (पपुलिज्म) बाट निर्देशित भई गलत दिशातिर लाग्न थालेको छ । लेखक पल कोलिएरका अनुसार, यस्तो अवस्थाले थप राजनीतिक अस्थिरता निम्त्याउँछ । कोरोना महामारीबीच बढ्दो राजनीतिक अन्योल र संवैधानिक संकटले त्यसमा झन् बल पुर्‍यायो । पछिल्लो समय सर्वोच्च अदालतको आदेशपछि राजनीति फेरि स्थिरतातिर जान्छ कि भन्ने झिनो आशाचाहिँ पलाएको छ ।

राजनीतिक परिवर्तनको हरेक आन्दोलनमा युवाहरूको प्रमुख भूमिका हुने गर्छ । तर, अनेक राजनीतिक आन्दोलनहरू भए पनि आन्दोलनपश्चात् युवाहरूका विभिन्न समस्याको व्यवस्थापन कसरी गर्ने भन्नेमा राजनीतिक दलहरू सधैं अस्पष्ट रहे । आन्दोलनको अग्रपंक्तिमा देखिएका असंख्य युवाको भविष्यको रूपरेखाले आन्दोलन हाँक्नेहरूको मनमस्तिष्कमा सायदै कहिल्यै बीजारोपण गर्‍यो ।

नेपाली युवाहरू सुगौली सन्धिभन्दा अघिदेखि परदेशमा काम गर्न जान थालेका थिए र त्यो क्रम निरन्तर छ जसले गर्दा अहिले नेपाली समाजमा युवाहरूको उपस्थिति झन्झन् पातलो हुँदै गएको छ । बर्सेनि यो क्रम बढ्दै जानेछ । औपचारिक र अनौपचारिक रूपमा भारतसहित करिब १३२ राष्ट्रमा गई काम गर्ने नेपाली करिब ६०–७० लाख छन् भन्ने गरिन्छ । यद्यपि राष्ट्रिय योजना आयोगको पछिल्लो प्रतिवेदन र अन्य सरकारी आँकडाअनुसार, भारतमा समेत गरेर ५० लाखजति नेपाली नागरिक वैदेशिक रोजगारीमा छन् । १ लाखभन्दा बढी युवा त अहिले विदेशमै अध्ययनरत छन् । सन् २०११ को जनगणनानुसार, दस नेपालीमा चार जना १६–४० वर्ष उमेर समूहका छन् जसको जनसंख्या १ करोडभन्दा बढी छ ।

यस हिसाबले उत्पादनशील यो उमेरका आधाभन्दा बढी नेपालीले अहिले परदेशमा सीप, ज्ञान र सृजनशीलता प्रयोग गरी आफू र परिवारका लागि रोजीरोटीको जोहो गरिरहेका छन्; तीमध्ये केहीले आर्थिक हैसियतसमेत बढाइरहेका छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार, नेपालका आधाभन्दा बढी घरपरिवारले विप्रेषण पाउँछन् । हाम्रो बढ्दो खपतमा विप्रेषणको ठूलो हिस्सा छ । विप्रेषणकै कारण केही मात्रामा गरिबी घटेको, आधारभूत शिक्षामा पहुँच बढेको छ । सँगै, युवाहरूको अनुपस्थितिले गर्दा जनसंख्या वृद्धिदर घटेको छ ।

पछिल्ला दिनमा राजनीतिक दल र सरकारहरूले कृषिमा उत्पादन र उत्पाकत्व बढाउने भनेका छन् । तर अस्थिर राजनीति, मर्यादित र दिगो रोजागारी र स्वरोजगारी सृजना गर्ने दृष्टिकोण एवं कार्यक्रमको अभावका कारण युवाहरू बिदेसिनाले ग्रामीण क्षेत्रमा जग्गा बाँझो रहने, श्रमिकको अभाव हुने र अरू कारणले समेत गर्दा जमिनको उत्पादकत्व घट्ने क्रम जारी छ । गुजारामुखी कृषिमा आवश्यक श्रमिकहरूको अभाव महिलाहरूमाथि बोझ थपेर केही मात्रामा पूर्ति गरिएको छ । नेपालमा गत २० वर्षमा १०५,००० हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा विभिन्न पूर्वाधारको निर्माण गरिएकाले अब त्यो खेती गर्न लायक हुनेछैन । नेपालको कृषिको उत्पादकत्व करिब २.८२ टन प्रतिहेक्टर मात्र छ जुन दक्षिण एसियामा अफगानिस्तानबाहेक सबैभन्दा कम हो । नेपालमा करिब ५३ प्रतिशत परिवारसँग आधा हेक्टरभन्दा कम जमिन छ । केही वर्षअघिको अध्ययनअनुसार, झन्डै ४१ प्रतिशत

नेपालीले आफूलाई चाहिने क्यालोरी पाउँदैनन् । अवस्था नसुधार्ने हो भने एकतिहाइभन्दा बढी बालबालिका पछि पुड्का हुन सक्छन् । राजनीतिमा संख्यात्मक हिसाबले युवा नेतृत्वको संख्यामा कमी छैन । ठूला दलका केन्द्रीय नेतृत्वहरूमा युवाहरूको मनग्य उपस्थिति छ । तर तिनीहरूले विकसित देशहरूका विकासका पहललाई हाम्रो परिवेशमा ढालेर जनतामाझ देशको वर्तमान आर्थिक–सामाजिक समस्याको समाधानका लागि दिगो रूपमा कार्यान्वयन गर्न सक्ने दृष्टिकोण प्रस्तुत गरेको अपवादबाहेक विरलै देखिन्छ । युवाहरूलाई दलका विभिन्न संरचनामा समावेश गरी राजनीतिमा संलग्न गराएर मात्रै दीर्घकालीन रूपमा तिनको क्षमतालाई उत्पादनशील रूपले परिचालन गर्न सकिन्न । कुत असुल्न, दलाली र गुन्डागर्दी गर्न अनि नेतृत्वमा रहेकाहरूको परजीवी हुन लगाई युवाहरूलाई अन्तहीन भविष्यको अनिश्चित राजनीतिमा झोस्ने काम राजनीतिक दलहरूबाट हुनु हुँदैन । विडम्बना, नेपालको राजनीति त्यतैतिर बढिरहेको छ ।

अर्कातिर, मिहिनेती र जाँगरिला धेरै युवा बिदेसिएपछि राजनीतिक दल, नेतृत्व र सबै सरकारलाई राहत मिलेको पनि छ । रोजगारीका अवसरहरू माग्दै रोजगारीको अधिकारका लागि आन्दोलन गर्ने मानिसहरू पहिलेभन्दा धेरै कम छन् । सामाजिक आन्दोलनको मैदानमा पनि धेरै युवाको उपस्थिति देखिँदैन । सहर होस् या गाउँघर, राजनीतिमा अहिले सैद्धान्तिक बहसमा युवाको उपस्थिति कम छ । वर्तमानमा भोगेका अप्ठ्याराहरू र उज्यालो भविष्यको अनिश्चितताको चिन्ताले युवा वर्गमा निराशा छाएको छ । धेरै युवा मानसिक रूपले विक्षिप्त भएका छन् । सरकारको अध्ययनअनुसार पनि युवा वर्गमा मानसिक स्वास्थ्यको अवस्था गम्भीर छ ।

देश र समाजलाई संस्कार र मर्यादासहित आधुनिक युगमा डोर्‍याउने युवा वर्गले नै हो । तर, देशमा व्याप्त विभेद र कुसंस्कार हटाउन युवाहरू जागृत हुन अझै धेरै बाँकी छ । बलजफ्तीको आन्दोलनले भन्दा चेतना बाँड्ने अभियानले समाजमा दिगो परिवर्तन गराउन सजिलो हुन्छ । तर चेतना बाँड्दै दिगो परिवर्तनको बाटो अपनाउने सामाजिक आन्दोलन या अभियानमा मुख्य राजनीतिक दलहरूका युवाहरूको उपस्थिति भने पातलिएको छ । ‘एनफ इज एनफ’ जस्तो सामाजिक आन्दोलनमा राजनीतिक दलहरूका युवाको कमजोर उपस्थितिले पनि तिनको अजेन्डा र संगठनको वजन र नियतको गाम्भीर्यलाई झल्काउँछ । देशमा कुनै पनि राजनीतिक–सामाजिक परिवर्तन दिगो र चाँडो गर्नका लागि दलका युवाहरू नै अहिंसात्मक रूपमा कसिनुपर्छ । ऊर्जाविहीन, विचारविहीन र कर्मकाण्डी पाराको आन्दोलनको उपलब्धि पूर्ण र दिगो हुँदैन ।

ढोङ र लोकरिझ्याइँको धारमा डुबेको अहिलेको राजनीतिमा धेरै युवा नेतृत्वमा या युवालाई नेतृत्व गर्नेहरूमा अपेक्षित प्रतिकार र प्रतिरोध गर्दै गहन, सबल र दीर्घकालीन पृथक् सोच देखिँदैन । कहालीलाग्दो त के छ भने, मन्त्री वा सरकारको कुनै पदमा रहेकाहरू, जसले नीतिगत सुधार, स्रोत परिचालन र भएका संरचनाहरूलाई सुधार गरी राष्ट्रको अत्यावश्यक ठाउँमा सेवा प्रवाहमा तीव्रता ल्याउन सक्ने कानुनी र राजनीतिक हैसियत राख्छन्, लाजै नमानी आफ्नो निर्वाचन क्षेत्रको परिधिभित्र केही थान अक्सिजन सिलिन्डर र चामल वितरण अनि व्यक्तिगत सहयोग गर्नमै रमाइरहेका छन् । उमेरले युवा देखिए पनि तिनीहरूमा आत्मबल, सोच, कार्यशैली र क्षमता पुरातनवादी, संकीर्ण र कमजोर छ । युवा सोच, कार्यशैली र क्षमता धेरै कम नेताहरूमा छ । त्यसैले राजनीतिमा पनि युवा विचार र युवा सोचको युवाको उपस्थिति पातलिएको छ । युवा उमेरले मात्र हुने होइन, सोचमा पनि युवा चाहिन्छ । प्रवृत्ति र संस्कार नबदल्ने हो अहिलेको युवा वर्गले पुरानो विचारको पुस्तालाई आगामी धेरै वर्षसम्म नयाँ सोच र विचारले प्रतिस्थापन गर्ने हैसियत राख्ने देखिँदैन ।

विभिन्न प्रतिवेदन र अध्ययनहरूले नेपालको विकासका लागि युवा जनशक्ति अत्यन्त महत्त्वपूर्ण स्रोत भनी औंलाएका छन् । नेपालमा ६५ वर्ष नाघेका नागरिकको जनसंख्या २०८४ सालमा ७ प्रतिशत र २१११ सालमा १४ प्रतिशत पुग्ने राष्ट्रिय योजना आयोगको प्रक्षेपण छ । हामीलाई विकास गर्ने समय करिब २५ वर्षभन्दा कम छ भनिएको छ । यस हिसाबले द्रुत र दिगो विकास नगरिए युवा वर्ग विकासको प्रतिफल उपभोग गर्न नपाउँदै प्रौढ पुस्तामा पर्नेछ । उत्पादनशील युवाहरूलाई बाहिर पठाउनाले नेपाल र नेपाली समाजको समय जसरी विकास नभई गुज्रेको छ, त्यो निकै संवेदनशील छ ।

युवाहरूलाई विदेश पठाउनु हुन्न भन्ने होइन, किनकि नेपालको विकासको गति र यहाँको राजनीतिक अस्थिरताका कारण अझै केही वर्ष नेपाली युवाहरूलाई विदेश नगई सुखै छैन, तर उत्पादनशील युवाहरू बिदेसिन बाध्य हुँदा देशलाई थुप्रै नकारात्मक असर परेको छ । जुनसुकै राष्ट्रमा स्वदेशी लगानी बढाउन वा विदेशी लगानी भित्र्याउन, आधुनिक प्रविधिको प्रयोग र विस्तार गर्न गुणस्तरीय शिक्षा र सीप हासिल गरेको युवा जनशक्तिबिना सम्भव छैन । प्राकृतिक स्रोतको प्रचुरता भए पनि शिक्षित तथा गुणस्तरीय सीप हासिल गरेको युवा जनशक्तिबिना तिनबाट देशले फाइदा लिन सक्दैन । नेपालले पनि यस्ता अप्ठ्यारा बेहोर्नुपरेको छ र युवाहरूको उपस्थिति पातलिने क्रम जारी रहे भविष्यमा अप्ठ्याराहरू बढ्दै जानेछन् । आज नेपाली श्रम बजारमा उत्पादन र उद्योगमा मात्र हैन, सेवा क्षेत्रमा समेत आवश्यक सीपयुक्त जनशक्ति पाउन सजिलो छैन । अहिलेको धेरै युवा श्रमशक्ति बजारको मागभन्दा निकै टाढा छ ।

राजनीतिक दल र सरकारहरूले आर्थिक–सामाजिक विकासका लागि संरचनाहरूको निर्माण गरी, क्षमता विकासका कार्यक्रम ल्याई, लगानी बढाउने कानुन र नीतिको विकास गरी, युवामा भएको उद्यमशीलता, प्रविधिप्रतिको लगाव, सृजनशीलता र आत्मबलको प्रयोग गरी स्वाभिमान बन्न सक्ने सपनाहरू बाँड्न सक्नुपर्छ । हरेक युवामा कर्मशील भई खट्नका लागि उत्साह भर्नुपर्छ । समावेशी संरचना र सुशासनले यस्ता युवालाई सधैं प्रोत्साहन गर्छ जसले गर्दा व्यक्ति, समाज र राष्ट्रले आर्थिक–सामाजिक क्षेत्रमा फड्को मार्न सक्छन् । यस्तो माहोलको अभावमा अहिले धेरै युवा आफ्नो जाँगर, सीप र ऊर्जा प्रयोग गरी स्वाभिमान र स्वावलम्बी हुने अवसरबाट वञ्चित भएका छन् ।

‘कालो बादलमा चाँदीको घेरा’ भने देखिन्छ । निजी क्षेत्रमा युवाहरूको उपस्थिति बाक्लिँदै गएको छ । युवाहरूमा स्वदेशै बसी या विदेश गई सीप सिक्ने प्रचलन बढ्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगमा युवाहरूको उल्लेख्य वृद्धि हुन थालेको छ । अनौपचारिक तथ्यांकअनुसार, करिब ३० हजार नेपाली युवा अहिले सूचना प्रविधि क्षेत्रमा नेपाल सरकारका संयन्त्रभन्दा बाहिर क्रियाशील छन् । बैंकिङ, पर्यटन, ऊर्जा क्षेत्रका साथै र केही सफल कृषि उद्यमीहरूमा युवाहरूको चम्किलो अनुहार देखिन थालेको छ । युवाहरू कि बजारमा उपलब्ध रोजगारीमा उपयोगी हुन सकून् कि त आफैंले स्वरोजगारीका उपायहरू अँगाल्न सकून् भनेर शिक्षा क्षेत्रमा व्यापक सुधार गर्नुपर्छ । आशा गरौं, आगामी दिनमा निष्ठा, सिद्धान्त, ज्ञान र चेतनाले भरिएका युवाहरू सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा बाक्लिँदै जानेछन् र तिनको उपस्थितिका कारण देश विकासको हरेक पहल झन् प्रभावकारी हुनेछ; आगामी दिनमा यो देशमा युवाहरू हराएका छन् भन्नुपर्नेछैन ।

अघिल्लो सामग्रीरौतहट प्रहरी को आर्थिक वर्ष ०७७÷०७८ को बार्षिक प्रतिबेदन सार्वजनिक
यसपछिको सामग्रीमलिका चाहना ‘रियल हिरोइन’ बन्ने