रौतहट २७ असार: भारतको सितामढि स्थित सीमावर्ती क्षेत्रका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक सम्पन्न भएको छ । नेपालको रौतहट र भारतको सीतामढी जिल्लाका सुरक्षा अधिकारीहरुको संयुक्त बैठक शनिवार सम्पन्न भएको हो । बैठकमा द्विपक्षीय सुरक्षा सम्वद्ध विविध विषयमा छलफल भइ आपसी समन्वय अभिवृद्धि गर्ने समझदारी भएको छ । एउटा देशमा अपराध गरी अर्को देशमा लुक्ने प्रवृत्ति बढदै गएकोमा चिन्ता प्रकट गर्दै सुरक्षा अधिकारीहरुले त्यस्ता अपराधीलाई पक्राउ गर्न आपसी सहयोग आदान प्रदान गर्ने, सीमावर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण, कानुनले प्रतिबन्धित सामग्रीको अवैध ओसार पसार नियन्त्रणबारे सहमति भएको रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताउनु भयो । सीमा क्षेत्र नजिकको गौर–४ स्थित लालबकैया नदीको टिकुलिया बाँध मर्मत गर्न भारतीय सुरक्षा निकायले गरेको सहयोगप्रति धन्यवाद दिइएको समेत उहाले बताउनु भयो ।

बैठकमा भारतीय बाँधमा रहेको सुलिस गेट पानीको प्राकृतिक बहावको लागि आवश्यकता अनुसार परिचालन गर्ने, गौर नाकाबाट आवागमन व्यवस्थापनमा आवश्यक सहजीकरण गर्ने लगायतका विषयमा सहमति भएको छ । आवश्यकता अनुसार द्विपक्षीय रुपमा निरन्तर सम्पर्कमा रहने सहमति समेत भएको सुरक्षा अधिकारीहरुले बताएका छन । संयुक्त बैठकमा रौतहटबाट प्रमुख जिल्ला अधिकारी यादवका अतिरिक्त एसपी सिद्धीविक्रम शाह, सशस्त्रका एसपी सुरजसेन ओली, राष्ट्रिय अनुसन्धानका एसपी मुकुन्द खड्का र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए । भारतका तर्फबाट सीतामढी डिस्ट्रिक मजिस्टेड सुनिलकुमार यादव, एसपी हरकिशोर राई लगायत भारतीय प्रहरी, एसएसबीका अधिकारीहरु सहभागी जनाएका थिए ।

अघिल्लो सामग्रीअफिमसहित २ युवक प्रहरीको फन्दामा
यसपछिको सामग्रीजनता समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्चमा रिट