१३ श्रावण,सर्लाही
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । पोखरीमा डुबेको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको वडाध्यक्ष श्याम शाहले जानकारी दिनुभयो ।

स्थानीय सञ्जीव कापडकी २६ वर्षकी श्रीमती रिकेवादेवी, १८ महिनाकी छोरी रमा र नौ दिनका छोराको शव सूर्यवंश चौधरीको निजी पोखरीमा फेला परेको वडाध्यक्ष साहले बताउनुभयो । गएराति घरबाट निस्केकी रिकेवादेवीको शव बिहान पोखरीमा देखेपछि घटना सार्वजनिक भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

श्रीमती र बच्चा खोज्न निस्केका सञ्जीव अहिलेसम्म सम्पर्कमा नआएको पनि उहाँले बताउनुभयो । तीनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मलङ्गवा लगिएको र हत्या वा आत्महत्याबारे अनुसन्धान भैरहेको सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिनुभएको छ ।

अघिल्लो सामग्रीनेपालमा खेल्न उत्साहित छु = अफ्रिदी
यसपछिको सामग्रीहाम्रो अनुसन्धान–वातावरण