श्रावण १४,रौतहट
रौतहटमा डेढ दशकअघिसम्म गौरमा एउटा ठूलै खेल मैदान थियो । रौतहट को सदरमुकाम रहेको गौरमा फुटबलका राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्थ्यो । त्यो खेल मैदान यति बेला जिल्ला प्रहरी कार्यालयले आफ्नो स्वामित्वको भनेर भोगचलन गर्न थालेपछि गौर अहिले मैदानविहीन बनेको छ भने स्थानीय युवाहरु खाली जमिन तथा खेतमा अभ्यास गर्न ब्यस्त रहेका छ्न।।
एक दशकयता गौरमा फुटबल प्रतियोगिता पनि ठप्प छ । स्थानीय युवा साना चौर र खेतमा अभ्यास गर्न बाध्य छन् । सहरको दक्षिणमा रहेको राइस मिल मैदानमा क्रिकेट खेल्नेको भीड लाग्छ ।
राइस मिलको जमिन अधिग्रहण गरी खेल मैदान बनाउन गौर नगरपालिकाले प्रक्रिया अघि बढाएको छ । मिलको स्वामित्वमा दर्ता रहेको ५ बिघा १९ कठ्ठा ५ घुर जमिनलाई खेल मैदान बनाउन लागिएको गौर नगरपालिकाका प्रमुख अजय गुप्ताले बताए । ‘सदरमुकाममै खेल मैदानको अभाव छ ।
राइस मिलको जग्गा अधिग्रहण गरेर व्यवस्थित खेलमैदान बनाउने तयारीमा रहेको नगर प्रमुख गुप्ताले बताए । खेलमैदान बनाउन का लागी प्रक्रिया अघि बढाइसकेका गुप्ताले बताए ।नगरपालिकाले २०७२ वैशाख २४ गते राइस मिलको जमिनको मुआब्जा रकम १३ करोड ५३ लाख ८२ हजार ६ सय ९७ रुपैयाँ तोकेको थियो ।
त्यतिबेला नै जमिन अधिग्रहणका लागि मालपोत कार्यालयलाई पत्र पठाइसकिएको मेयर गुप्ताले बताए । मिलको जमिनमा क्रिकेट र सभा–समारोह हुँदै आएको छ । यसलाई खेलमैदानको रूपमा अधिग्रहण गर्नुपर्ने ६ वर्षदेखि स्थानीयले माग गर्दै आएका छन् । २००३ सालमा स्थापना भएको मिल ३० वर्षसम्म सञ्चालन भएको थियो । विभिन्न कारणले ०३३ सालमा बन्द भयो । उक्त मिलमा १ सयभन्दा बढी नेपाली र भारतीय सेयर सदस्य छन् । तीमध्ये अधिकांशको मृत्यु भइसकेको छ । उक्त राइस मिलका सञ्चालक बताउने काठमाडौंका लक्ष्मीशंकर श्रेष्ठ, उनका छोरा सञ्चालक समितिका अध्यक्ष बताउने प्रकाशशंकर श्रेष्ठलगायत वीरगन्ज र गौरका केही व्यक्तिले बेचबिखन हुन लागेको भन्दै विरोध जनाउँदै आएका छन् । मिल बन्द भएपछि स्थानीयले खेलकुद अभ्यासस्थल बनाएका छन् ।
गौरको साथै रौतहटको अन्य स्थानमा पनि फुटबल मैदानको अभाव रहेको अखिल नेपाल फुटबल संघ प्रदेश नं.२ का अध्यक्ष नेपाल कार्कीले बताए । ‘भइरहेको खेल मैदान मास्ने काम भए । धेरैजसो विद्यालयमा राम्रा मैदान थिए,’ उनले भने, ‘ती सबै निजीजस्तै घेराबन्दी गरी अरूलाई प्रवेशमा रोक लगाउन थाले । बाँकी विद्यालयले मासे । त्यसपछि खेल गतिविधिमा प्रभाव पर्यो ।’