काठमाडौं । यस वर्षको राष्ट्रिय फुटबल लिग ‘होम एण्ड अवे’का आधारमा सञ्चालन गर्ने तयारी गरिएको छ ,कोभिड–१९ का कारण गत वर्ष प्रभावित बनेको राष्ट्रिय लिग ‘होम एण्ड अवे’ का आधारमा सञ्चालनको तयारी भएको हो ।राष्ट्रिय लिग कमिटीका संयोजक वीरबहादुर खड्काले सहभागी हुने सबै क्लबसँग छलफल गरेर यसबारे टुङ्गो लाग्ने खेलपाटीलाई बताए ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय लिगको मिति र अन्य मोडालिटी तय गर्न सहभागी १० क्लबलाई भोली (शुक्रबार) छलफलमा बोलाएको छ । शुक्रबारको छलफलले राष्ट्रिय लिगका सन्दर्भमा देखिएको अन्यौलता हटाउने अपेक्षा गरिएको छ ।

एन्फा तालिका अनुसार राष्ट्रिय लिग भदौमा सुरु गर्नुपर्ने उल्लेख छ । तर एन्फाले सहिद स्मारक ए डिभिजन लिगको मिति तोक्दै राष्ट्रिय लिगलाई संगसंगै लैजाने माडालिटी तय गर्यो ।तर ए डिभिजन र राष्ट्रिय लिग संगसंगै लैजाने विषयमा क्लबहरुको बिमती छ । यसमा एन्फाकै पदाधिकारीले समेत असन्तुष्ट छन् ।

‘एन्फा तालिका अनुसार पहिला राष्ट्रिय लिग गर्नुपर्ने थियो । राष्ट्रिय लिग नभएर ए डिभिजन लिगको मिति घोषणा भैसकेको छ । मिति घोषणा भएपछि सबै खेलाडीलाई सहिद स्मारक खेल्ने क्लबले अनुबन्ध गरेका छन् । त्यसैलै दुवै लिग संगै लैजान सम्भव छैन ।’ एन्फा उपाध्यक्ष समेत रहेका खड्काले भने ।

एन्फाले राष्ट्रिय लिग खेल्ने सबै क्लबलाई शुक्रबार छलफलमा बोलाएको छ । बैठक एन्फा हेडक्वार्टर सातदोबाटोमा साढे १२ बजे सुरु हुनेछ । छलफलमा सहभागी हुन मोफसलका सबै क्लबका अधिकारी काठमाडौं आइपुगेको खड्काले बताए ।

‘राष्ट्रिय लिग होम एण्ड अवे आधारमै गर्ने हो । एन्फा कार्यसमितिको बैठक बसेर निर्णय भैसकेको कुरा हो । क्लबहरु तयार भैसकेका छन् ।’ खड्काले भने, ‘दुवै लिग एकै पटक खेल्ने÷नखेल्ने, कुन क्लबको घरेलु मैदान कुन हुने, कति ठाउँमा घरेलु मैदान तय गर्ने भन्ने विषय बैठकले टुङ्गो लगाउनेछ ।’एन्फाले असोज ३ गतेबाट सहिद स्मारक ए डिभिजन लिग सुरु गर्दैछ । राष्ट्रिय लिगका लागि कात्तिक ३० गतेको प्रस्तावित मिति एन्फाले छलफलमा राखेको छ ।

शुक्रबारको बैठकले सहिद स्मारकको पहिलो चरण सकिएपछि वा पुरै लिग सकिएपछि राष्ट्रिय लिग आयोजना गर्ने सन्दर्भमा निर्णय गर्नेछ ।‘सहिद स्मारकको पहिलो चरणमा ९१ खेल हुनेछ । पहिलो चरण सकिएपछि राष्ट्रिय लिग सुरु गर्ने वा ए डिभिजनका सबै खेल सकिएपछि सुरु गर्ने भन्ने टुङ्गो बैठकले लगाउनेछ ।’ खड्काले भने ।

एन्फाको २०७६ साल माघ २५ गते बसेको कार्यसमिति बैठकले वीरबहादुर खड्कालाई राष्ट्रिय लिग कमिटीको संयोजकको जिम्मेवारी दिएको थियो । सोही बैठकले राष्ट्रिय लिग ‘होम एण्ड अवे’का आधारमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नेपाली फुटबलमा नयाँ संरचना लागु गर्ने उद्धेश्य अनुरुप घरेलु फुटबलमा दुई पटक राष्ट्रिय लिग सञ्चालन भएका थिए । यसअघि राष्ट्रिय लिग सन् २०११÷१२ र सन् २०१५ मा भएको थियो ।पहिलो पटकको राष्ट्रिय लिगमा ए डिभिजनका शीर्ष ८ टिम र मोफसलका २ टिम सहभागी थिए । ‘सिंगल राउण्ड रोबिन’मा भएको प्रतियोगितामा पुलिस च्याम्पियन बनेको थियो ।

तीन वर्षपछि पुन राष्ट्रिय लिगको भएको थियो । ‘डबल राउण्ड रोबिन’ लिगका आधारमा भएको प्रतियोगितामा ए डिभिजनका शीर्ष १० टिम र मोफसलका ४ टिमलाई समावेश गरिएको थियो । मछिन्द्र, हिमालयन शेर्पा, सरस्वती र फ्रेन्ड्स क्लबमाथि एन्फाको कारबाही र संकटाले प्रतियोगिता नखेल्ने बताएपछि जम्मा ९ टिमले राष्ट्रिय लिग खेलेका थिए । ‘होम एण्ड अवे’का आधारमा सञ्चालित प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको थियो ।तेस्रो पटक राष्ट्रिय लिग २०२० मा तय भएको थियो । ए डिभिजनका शीर्ष ६ टिम र मोफसलका ४ टिम समावेश गर्दै राष्ट्रिय लिग तय गरिएको थियो । एन्फा प्रेसिडेन्टका शीर्ष चार क्लब राष्ट्रिय लिगका लागि छनोट भएका थिए ।

सुदुरपश्चिम कैलालीको स्टार सिटी युथ क्लब, लुम्बिनी प्रदेश बाँकेको धम्बोजी क्लब, प्रदेश २ रौतहटको मनकामना युथ क्लब र गण्डकी प्रदेश लम्जुङको त्रिवेणी युथ क्लब एन्फा प्रेसिडेन्ट लिगको शीर्ष चारमा रहदै राष्ट्रिय लिगमा छनोट भएका हुन् ।पछिल्लो संस्करणको ए डिभिजन लिगमा च्याम्पियन बनेको मछिन्द्र एफसी सहित मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब र थ्री स्टार राष्ट्रिय लिग खेल्दैछन् ।

अघिल्लो सामग्रीकसरी थाहा पाउने आफ्नो पाचन प्रणाली कमजोर छ
यसपछिको सामग्रीछात्रालाई साइकलसहित शैक्षिक सामग्री