साउन ०१,रौतहट
बर्सेनि कालोपत्र गरेर खाडल पुरे पनि वर्षाको समयमा उस्तै पूर्वपश्चिम राजमार्गका पुलमाथि खाल्टैखाल्टा देखिन थालेपछि सवारी आवागमनमा समस्या भएको छ । बाराको पथलैया र रौतहटको वाग्मती खण्डका पुलमाथि खाल्टैखाल्टा परेका हुन् । सडक डिभिजनले बर्सेनि कालोपत्र गरेर खाडल पुरे पनि वर्षाको समयमा उस्तै हुने गरेको छ ।

वाग्मती पुलमा बनेको खाडल 

अहिले भएका पुलहरू झन्डै ५५ वर्ष पुराना हुन् । त्यस बेला सवारी चाप कम थियो । अहिले दैनिक ४र५ सय को संख्या सवारी ओहोरदोहोर गर्छन् । पुलमा खाल्टो भएपछि आवागमनमा समस्या देखिन थालेको छ । सवारीको चाप बढे पनि पुलको अवस्था भने उस्तै छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरअन्तर्गत रौतहटको धन्सारदेखि सर्लाहीको बाँकेसम्म साना–ठूला गरेर ३३ वटा पुलहरू छन् । साना ११ वटा कल्भर्ट छन् ।

ती सबैमा खाल्टा परेका छन् । पुलको चौडाइ साढे ५ देखि ६ मिटरसम्म छन् । पुलको खाल्टो पुर्न लागिएको सडक डिभिजनका कामु प्रमुख नरेश केशरीले बताए । ‘ट्राफिक चापअनुसार पुलको आयु सकिएकै भन्न सकिन्छ,’ उनले भने, ‘पुल अहिले नै भत्किहाल्छ भन्ने छैन । तर सवारी र ट्राफिकको हिसाबले हेर्ने हो भने पुलको आयु सकिएको छ ।’

उनका अनुसार आगामी आर्थिक वर्षबाट राजमार्गको पुल र सडक मर्मतको जिम्मा विश्व बैंकले लिइसकेको छ । विश्व बैंकले ७० प्रतिशत र सडक विभागले ३० प्रतिशत खर्च गर्ने सहमति भएको छ । आगामी आर्थिक वर्षमा पथलैयादेखि कमला नदीसम्म ४ लेनको सडकको ठेक्का लाग्ने र नयाँ पुल निर्माण हुने केशरीले जनाए । सडक डिभिजनका अनुसार राजमार्गका अधिकांश पुराना पुलहरू कम्पोजिट फर्म्याटमा निर्माण गरिएका छन् । जुन पुलमा तल मेटल फ्रेम र माथि कंक्रिटको संरचना राखेर बनाइएको छ । पहिलाको सवारी चापलाई मध्यनजर गरेर बनाइएको पुलले अहिलेको सवारी चापलाई धान्न सक्ने अवस्था छैन ।

पुलको खाडलले कुनै पनि बेला साना–ठूला सवारी पल्टिने खतरा बढेको ट्राफिक प्रहरीको भनाइ छ । राजमार्गका अधिकाश पुल साँघुरो र त्यही माथि खाडल भएको कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको जिल्ला ट्राफिक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक ज्ञानबहादुर माझीले बताए । ‘साँघुरा पुलमा दोहोरो गाडी चल्न सक्ने अवस्था छैन । एउटा सवारी पास नभएसम्म अर्को जबर्जस्ती पुलमा हुइँक्याउँछन्,‘उनले भने, ‘कुनै बेला गाडी बीचमा पास हुन नसकेर घण्टौं जाम हुन्छ । राष्ट्रिय राजमार्ग लामो समयसम्म अवरोध हुनु हुँदैन ।’ ट्राफिकका अनुसार दैनिक ४र५ सयभन्दा बढी सवारी ओहोरदोहोर गरिरहने राजमार्ग र पुलको अवस्था नाजुक छ । एउटा लोड ट्रकको सरदर तौल ३२ टनसम्म हुन्छ । पपुल यति भार क्षमता धान्न नसक्ने अवस्थामा रहेको ट्राफिकको बुझाइ छ ।

यस्तै, वाग्मती नदीमा पुलको पिलरको जग नै देखिन थालेको छ । पुलको तेस्रो स्पानको जग देखिन थालेको हो । यो पुल झन्डै ५० वर्ष पुरानो हो । पहिला वाग्मतीको सतह निकै माथि थियो । अहिले तल गएको छ । सतह तल हुँदै गएपछि पिलरको जग देखिन थालेको हो । यसले पिलरलाई कमजोर बनाउने सडकका प्राविधिकहरू बताउँछन् । ३६३ मिटर लामो पुलमा ११ वटा स्पान छन् । ती सबैको जग देखिने अवस्थामा पुगेको छ । यो पुल मर्मत गरी सञ्चालनमा ल्याइएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–ढल्केबर खण्डको ६९ वटा पुलहरू नयाँ बनाइने पुल महाशाखाले जनायो । यो खण्डका अधिकांश पुलहरू केही महिनाअघि मर्मत गरिएको छ । २०२६ सालमा तत्कालीन सोभियत संघको सहयोगमा राजमार्गका पुलहरू निर्माण गरिएको थियो ।
साभार कान्तिपुर

अघिल्लो सामग्रीअझ घातक भेरिएन्ट फैलिन सक्छ ; डब्लूएचओ
यसपछिको सामग्रीबालबालिकामा इन्टरनेटको लत