अरुणा उप्रेती
अचेलका आमाबुबाले ‘मेरा नानी बाबु त मोबाइल नभई भातै खाँदैनन्’ भन्दै गर्व गर्छन् । आमाबुबाले छोराछोरीलाई मोबाइलमा भिडियो देखाएर खाना ख्वाउन थालेपछि बिस्तारै उनीहरूको यसैमा बानी बस्छ । ठूलो भइसक्दा पनि छोराछोरी मोबाइल नहेरी खानै नखाने भएपछि बल्ल यस्तो बानी समस्या भइरहेको छ भन्ने थाहा पाइन्छ ।

मोबाइल नभई एकैछिन पनि बस्न नसक्ने, गाँसै नछिर्ने, छटपटी हुने भएपछि आमाबुबाले उनीहरूको मोबाइल हेर्ने बानी ‘कुलत’ मा परिणत भएको बुझ्नुपर्छ । बालबालिका तथा किशोरकिशोरीलाई इन्टरनेट तथा सामाजिक सञ्जालमा लामो समय बस्न दिएपछि उनीहरूलाई यसको कुलत हुन्छ, रक्सीको जस्तै । रक्सी वा लागूऔषधको कुलतले जसरी छटपटी हुन्छ, त्यसरी नै मोबाइल, इन्टरनेट, फेसबुकको कुलत लागेपछि त्यो बिनाछटपटाहट हुन थाल्छ ।

अभिभावकहरू पनि यस्तो कुलतबाट फसेका छन् । बालबालिकालाई यस्तो कुलतबाट जोगाउन सर्वप्रथम अभिभावक नै यसबाट मुक्त हुनु जरुरी छ । आफूले घण्टौं फेसबुक चलाएर, छोराछोरीलाई फेसबुकमा नझुन्ड भन्न सकिन्न । बालबालिकाले खाना खाने टेबुलमा मोबाइल वर्जित गर्नुपर्छ । परिवारका सदस्यहरू बसेर रमाइला कुरा गर्दै खाना खाँदा यसले बालबालिकाको मानसिक स्वास्थ्यलाई पनि सुधार्छ ।

बालबालिकालाई कुलतबाट बचाउन राति सुत्दा, मोबाइल र टेलिभिजन हेर्न नदिने साथै इन्टरनेटका जोखिम तथा साइबर अपराधबारे बुझाएर कथंकदाचि केही समस्या परिहाले कसरी हल गर्ने भन्ने पनि बुझाउनुपर्छ । उनीहरूलाई बाटो काट्दा मोबाइल प्रयोग गर्न नदिने, कानमा एयरफोन ठुसेर ‘संगीत’ सुन्ने बानीले कसरी कान बिग्रन्छ भनेर बुझाउने गर्नुपर्छ । अभिभावकले आफैं पनि यसो गर्नुहुन्न ।

सामाजिक सञ्जालमा एकदमै झुम्मिरहने ब्रिटेनका १४ वर्षीया मोलिर सेलले सन् २०१७ मा आत्महत्या गरिन् । उनको इन्स्टाग्राम एकाउन्ट हेर्दा डिप्रेसन तथा आत्महत्यासम्बन्धी विभिन्न सामग्री देखियो । पछि थाहा भयो, लगातार त्यस्ता सामग्रीहरू हेरेपछि मोलिरको मनस्थिति नै बिग्रिएको रहेछ । उनका बाबुले इन्स्टाग्रामलाई आत्महत्याको दोषी देखे । तर, आफ्नी छोरी कसरी समय बिताउँछिन्, इन्टरनेटमा के हेर्छिन् भनेर बुझ्ने प्रयास नगरेकाले यस्तो घटना हुन गयो पनि भन्न सकिन्छ । त्यस्तै केही वर्षअघि ‘स्मार्टफोन’ किन्न एक चाइनिज युवकले आफ्नो मृगौला बेचेका थिए । ‘स्मार्टफोन’ को लतमा फसिसकेका उनले भविष्य के होला भनेर विचारै गरेनन् ।

‘कुलतमा’ फसेपछि बुद्धिले काम गर्दैन । बालबालिका र किशोरकिशोरी मात्रै होइन गृहिणीहरू पनि कुलतमा फस्न सक्छन् । सानैदेखि लगातार कम्प्युटर, मोबाइल हेर्ने गर्दा अनेक मानसिक तथा शारीरिक समस्या देखिन सक्छ । कति अभिभावकले त फेसबुक चलाउँदा आफ्ना अन्य जिम्मेवारी नै बिर्सिन्छन् । अनि ‘तनाव’ भएपछि छोराछोरीलाई गाली गर्छन् ।

सहरका मध्यमवर्गीय परिवारका महिलालाई धेरै फुर्सद हुन्छ । समय बिताउन उनीहरू इन्टरनेटको कुलतमा फस्न सक्छन् । आमाबुबाले छोराछोरीलाई ख्वाउन, पियाउन, स्याहार गर्न बेवास्ता गर्दा परिवारमा कलह पनि हुन जान्छ । मोबाइलमा मात्र झुम्मिरहने अभिभावकमा सुरुमा गर्धनको मांसपेशी दुख्न थाल्छ, त्यसपछि घाँटी कक्रक्क पार्छ र अन्य शारीरिक समस्या पनि देखिन थाल्छ । कुलतमा आफू पनि ‘नफस्ने’ र छोराछोरीलाई पनि नफसाउन के गर्नुपर्छ भन्नेबारे आफैंले विचार गर्नुपर्छ । लगातार फेसबुक, इन्स्टाग्राम हेरिरहँदा त्यसैलाई बालबालिका तथा युवाहरूले वास्तविक संसार मान्न पुग्छन् । यदि बालबालिकामा मोबाइल चलाउने बानीका कारण शारीरिक तथा मानसिक दुवै समस्या भए, सामान्य अवस्थामा फर्किन गाह्रो हुन्छ । यस्तो समस्याको रोकथामको एउटै उपाय हो— कम्प्युटर, मोबाइलको ‘कुलत’ नलगाउनु ।

कुलतबाट बच्न बालबालिकाको दैनिकीमा शारीरिक व्यायाम, हिँडाइलगायतले स्थान पाउनुपर्छ । यदि बालबालिका कुलतमा फसे उपचारका लागि समय लाग्ने तथा खर्चिलो पनि हुन सक्छ । यसले मानसिक स्वास्थ्यमा पर्ने असरको उपचार त झनै कठिन छ । यसैका कारण पहिला पहिला ५० वर्ष पुगेपछि देखा पर्ने, समस्या युवा अवस्थामै देखिन थालेको छ । इन्टरनेट, फेसबुकको लत लागेकाहरूलाई योगासन, व्यायाम गर्न अल्छी लाग्छ । उनीहरूलाई एकै छिन इन्टरनेट भएन, मोबाइल देखिएन भने संसारै खत्तम भएजस्तो हुन्छ, रिसाउन झगडा गर्न सुरु गरिहाल्छन् ।

शारीरिक, मानसिक स्वास्थ्य बढी महत्त्वपूर्ण छ भन्ने कुरा आत्मसात् गर्न सके यो कुलतबाट जोगिन सकिन्छ । आमाबुबाले हरेक दिन आफ्ना छोराछोरीलाई व्यायाम गराउनुपर्छ । बालबालिकालाई इन्टरनेट र मोबाइलबाट हरेक दिन केही घण्टा टाढा राख्ने, यस्तो ‘कुलत’ नलागोस् भनेर हिँडाउने/खेलाउने, आफैंले पनि एउटै आसनमा बसेर लगातार काम नगर्नेलगायतमा अभिभावकले ध्यान दिनुपर्छ । लगातार अनलाइन कक्षा लिइरहँदा बालबालिकालाई समस्या पर्छ भन्ने बुझेर अन्य समय उनीहरूलाई मोबाइल वा कम्प्युटरबाट टाढा राख्नुपर्छ । कोरोना महामारीका बेला घरमै थुनिएका बालबालिकालाई मोबाइल जति हेर्न दिए पनि हुन्छ भन्ने विचार अभिभावकमा आउनुहुन्न ।

बालबालिका तथा वयस्कले पनि लगातार कम्प्युटर र मोबाइल चलाउँदा ढाड तथा गर्धनमा मात्र नभई आँखामा पनि समस्या बढेको छ । कोरोनाकालमा बालबालिकाले लगातार कम्प्युटर र मोबाइल प्रयोग गर्दा चस्मा लगाउनुपर्ने समस्या बढेको छ । यसरी लामो समय मोबाइल, कम्प्युटर हेरिरहँदा आँखा सुक्खा हुन्छ । बालबालिकामा टाढाको नदेखिने समस्या (मायोपिया) बढ्दै गरेको छ । अनलाइन कक्षाका कारण बालबालिकामा यस्तो समस्या झनै बढ्ने सम्भावना छ ।

लामो समय कम्प्युटरमा काम गर्दा आँखाको परेला धेरै झिम्काइन्न, आँखाका मांसपेशी थाक्छन्, खुक्खापन बढ्छ र दुख्न पनि थाल्छ । टाउको भारी हुन्छ । आराम, व्यायाम नगरेर कम्प्युटरमा मात्र काम गर्नेहरूलाई ‘कम्प्युटर भिजन सिन्ड्रोम’ हुन्छ । बालबालिका, किशोरकिशोरीलाई यस्तो समस्या आयो भने, उनीहरूको जीवनमा कति कठिन होला । त्यसैले छोराछोरीलाई प्रविधिको विवेकपूर्ण प्रयोग गर्न अहिल्यै सिकाउनुपर्छ । प्रविधिले मानिसलाई स्वस्थ बनाउनुपर्ने हो तर अविवेकशील तरिकाले यसको प्रयोग गर्दा दुःख पो दिन थालेको छ । यो दुःख एक छिनको मात्र हुँदैन, जीवनभरकै हुन सक्छ । त्यसैले कोक्रामै कुलत नलगाउन अभिभावकले विचार गर्ने बेला भयो ।

अघिल्लो सामग्रीराजमार्गका पुलमा ‘खाल्टैखाल्टा’
यसपछिको सामग्रीकाँग्रेस नेता यादवको भरतपुरस्थित क्यान्सर अस्पतालमा निधन